२०७६ साल फागुन १२ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता र प्राथमिकता : प्रधानमन्त्री ओली

अच्युत अर्याल २०७६ फागुन २ गते १३:१४


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्टप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता र प्राथमिकता रहेको बताउनुभएको छ ।

राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १५ औं ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज ललितपुरमा संबोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युवाहरुको चौतर्फी बिकासमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

मुलुकमा अहिले जननिर्वाचित, स्थिर र बलियो सरकार रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले युवालाई अध्ययन रोजगारी र व्यक्तित्व बिकासका कार्यक्रमहरुलाई अघि बढाइएको उल्लेख गर्नुभयो ।

उहाँले दक्ष र सक्षम जनशक्तिको विकासबाट प्राकृतिक स्रोतहरुको सदुपयोग गरी मुलुकलाई समृद्ध बनाइने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अनुशासननै राष्ट्र सेवाको मुल जग हो भन्ने आदर्श वाक्य बोकेर २०२२ सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले युवाहरुमा राष्ट्रिय एकताको भावना जगाएर त्यसलाई कार्यान्वयन गर्न आवश्यक तालिम समेत प्रदान गरेकोमा नेपाली सेना र सेवादललाई धन्यवाद दिनुभयो ।

त्यस अवसरमा बिद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गर्नुभएको म मेरो देश बनाउछु बोलको राष्ट्रिय गीतमा परेड प्रदर्शन गर्नुका साथै विभिन्न कलाकौशल प्रदर्शन गरेका थिए ।

एक सय दिनको तालिममा सहभागि पाँच सय नौ जना विद्यार्थी आज दिक्षित भएका छन ।

चालु आर्थिक वर्षको हालसम्म ७६ जिल्लाका दुई सय १३ विद्यालयबाट सात हजार सात सय जना क्याडेट छात्रछात्राहरुलाइ तालिम प्रदान गरिएको नेपाली सेनाले जनाएकोछ ।

त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले क्याडेटहरुलाई दर्ज्यानी चिन्ह प्रदान, शिल्ड तथा पुरस्कार वितरण, विद्यालयहरुलाई प्रशंसा पत्र प्रदान गर्नुको गर्नु भएको थियो ।

कार्यक्रममा सेवादलका सह(संरक्षक एवं उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, विभिन्न मन्त्रालयका सचिवहरु, मित्रराष्ट्रका सैनिक सहचारीहरु, सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरु, नेपाली सेनाका रथीहरू तथा अधिकृतहरु लगायत सम्बन्धित विद्यालयका शिक्षक र अभिभावकहरुको उपस्थिति रहेको थियो ।