तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक क्षेत्रको विकास गरेर सुदूरपश्चिमको मुहार फेर्छौंः मुख्यमन्त्री भट्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषिसँगै औद्योगिक क्षेत्रको पर्याप्त विकास गरेर सुदूरपश्चिम प्रदेशको मुहार फेरिने बताउनुभएको छ ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज आयोजना गरिएको गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले ठूला उद्योग तथा कृषि कार्यक्रम सञ्चालन गरी यहाँका नागरिकलाई प्रत्यक्ष रोजगारी दिने योजना सरकारले अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारले स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी दिने तथा आयस्रोत बढाउने खालका योजना ल्याएको छ, उक्त कार्यक्रमले यहाँका गरिखाने वर्गलाई प्रत्यक्ष सहयोग मिल्ने छ ।”

मुख्यमन्त्री भट्टले कृषि क्रान्तिलाई सफल पार्न सुदूरपश्चिममा औद्योगिक प्रवद्र्धन अत्यावश्यक रहेको बताउँदै विषेशगरी कामका लागि भारत जाने सुदूरपश्चिमवासीको बाध्यता हटाउनका लागि भए पनि हामी औद्योगिक क्षेत्रको विकास गर्न लागिपरेका छौँ, अब काम खोज्न भारत जाने परम्परा अन्त्य गर्नेछौँ भन्नुभयो ।

उहाँले प्रदेश भित्रका सम्भावित ठूला जलविद्युत् आयोजनाहरुको निर्माणका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने र साना योजना स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा निर्माण गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

शुक्रबारदेखि शुरु भएको उक्त प्रतियोगिता यही फागुन ५ गते सम्म सञ्चालन हुने पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button