तपाईँ सुन्दै हुनुहुन्छः

पाटन विमानस्थलमा कालोपत्र सम्पन्नः सञ्चालनको पर्खाइमा

बैतडी । दुई दशकभन्दा बढीदेखि बन्द रहेको पाटन विमानस्थल सञ्चालनको पर्खाइमा रहेको छ ।

सरकारले भ्रमण वर्ष मनाइरहेकै बेला सुदूरपश्चिमको दोस्रो ठूलो बैतडीको पाटन विमानस्थलमा कालोपत्र सम्पन्न भएसँगै सञ्चालनको पर्खाइमा रहेको हो । गत माघ १२ गते विमानस्थलमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको थियो ।

सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाइरहेको छ । एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष घोषणा गरिएको हो । कालोपत्रे सम्पन्न भएसँगै विमानस्थल सञ्चालनमा ल्याउन सके यसले भ्रमण वर्षलाई सहयोग पुग्ने स्थानीयवासी वसन्त विष्टको भनाइ छ । उहाँले भन्नुभयो, “पर्यटक भित्र्याउन विमानस्थल सञ्चालनले सहयोग पुग्ने देखिन्छ ।”

पर्यटकलाई आकर्षित गर्न सकिने

पाटन विमानस्थल कैलालीको गेटा विमानस्थलपछिको सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । नेपाल सरकारले घोषणा गरेको दश नमूना शहरमध्येको एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके यस क्षेत्रका पर्यटकीय गन्तव्यमा पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास गरिएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ । पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भुवनेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरी गङ्गा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।

पाटन विमानस्थल सञ्चालन भएमा दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडी र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सजिलो हुने स्थानीयवासी कपिल केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थल सञ्चालन भएमा यस क्षेत्रको धार्मिक पर्यटनको समेत विकास हुनेछ ।”

विमानस्थललाई सञ्चालनमा आएपछि बैतडीसहितका जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको महत्व बढ्ने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने पाटनका व्यवसायी दिनेश विष्टको भनाइ छ । “विमानस्थल पुनः सञ्चालनपछि ओझेलमा परेका पर्यटकीय क्षेत्रका विकासमा टेवा पुग्नेछ”, उहाँले भन्नुभयो, “व्यापार व्यवसाय पनि फस्टाउने र भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटकसमेत भित्र्याउन सकिन्छ ।”

बैतडीमात्रै नभएर दार्चुला, डडेल्धुरा र बझाङका लागि समेत पाटनबीचमा पर्ने भएकाले यो विमानस्थल सञ्चालन भएमा प्रदेश नं ७ का पहाडी जिल्लाका नागरिक लाभान्वित हुने स्थानीय छविराज जोशीले बताउनुभयो । दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल, बैतडीका धार्मिकस्थलको अवलोकन गर्ने पर्यटकलाई भित्र्याउनसमेत बैतडीमा रहेको विमानस्थल पाटन सञ्चालन गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

लक्ष्यभन्दा १८ महिनापछि सम्पन्न

विमानस्थल कालोपत्र गर्ने कार्य लक्ष्यभन्दा झण्डै १८ महिनापछि सम्पन्न भएको छ । विसं २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्र गर्ने कार्य शुरु भएको भए पनि ढिलो गरी सम्पन्न भएको हो । विसं २०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम शुरु भएको थियोे ।

सम्झौता शुरु भएपछि बन्द हडतालले ढिला गरी काम शुरु भएको थियो । यसका साथै काम शुरु भएपछि पनि निरन्तरको वर्षाले काम प्रभावित भएको निर्माण कम्पनीले जनाएको छ । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्र गर्ने कार्य गरेको हो । कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र अहिले किनारमा पेन्टिङको काम चलिरहेको निर्माण कम्पनीका इञ्जिनीयर पुरन रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनमै हस्तान्तरणको प्रक्रियामा जानेछौँ ।”

विमानस्थलमा ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको हो भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिएको हो । यसका लागि करिब मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो ।

विमानस्थल कालोपत्र भएपनि तत्काल सञ्चालन हुने अवस्था देखिएको छैन । टर्मिनल भवन निर्माण नभएकाले तत्काल विमानस्थल सञ्चालन आउन नसक्ने बताइएको छ । टर्मिनल भवन निर्माण, पर्खाल र नालीका लागि ठेक्कासमेत भएको छैन् । त्यसकारण विमानस्थल कालोपत्र भए पनि तत्काल सञ्चालन नआउने बताइएको छ ।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button