तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली राजमार्गमा रिफ्रेस सेन्टर निर्माण गरिने

सुर्खेत।  यातायात व्यवस्था विभागले कर्णाली राजमार्गसहित नेपालका दुई स्थानमा रिफ्रेस सेन्टर निर्माण गर्ने भएको छ ।

कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने राकम र पूर्व–पश्चिम राजमार्गको कपिलवस्तु जिल्लामा पर्ने गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले राससलाई जानकारी दिनुभयो । लामो यात्राका सवारी र यात्रुलाई आराम गर्न सहयोग पुगोस् भन्ने उद्देश्य सेन्टर निर्माणको तयारी भइरहेको महानिर्देशक हमालले बताउनुभयो ।

“सेन्टर निर्माणको कार्य चालु आवको एक महिनाभित्रै बोलपत्र आह्वान गर्दैछौँ”, उहाँले भन्नुभयो, “यस कार्यका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएको छ । रिफ्रेस सेन्टरको स्थापनाले लामो समयसम्म हिँडेका सवारीसाधन, चालक र यात्रुका लागि सजिलो हुनुका साथै बजार क्षेत्रसमेत विस्तार हुने अपेक्षा गरिएको छ ।” उत्तर–दक्षिण जोड्ने कर्णाली राजमार्ग र मध्य पहाडी लोकमार्ग जोड्ने राकम कर्णाली सबै दृष्टिले उपयुक्त भएकाले छनोट गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । महानिर्देशक हमालले गोरुसिङ्गेमा सेन्टर स्थापना गर्न रु १७ करोड ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । मुलुकका विभिन्न जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने सवारी सफा गरेर उपत्यका प्रवेश गराउने योजना गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका छिर्ने सवारी धोएर मात्रभित्र ल्याउने तयारी गर्न थालिएको छ । यसका लागि विभिन्न निजी कम्पनीलाई आह्वान गरिने छ ।” बाहिरबाट आएको धुलो, धुवाँलगायतको फोहर कम गरेर काठमाडौँ उपत्यकालाई सफा, स्वच्छ र सुन्दर शहर निर्माण गर्न चारै नाकामा एउटा मोडेल विधिको परिकल्पना ल्याइएको उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button