तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी इस्टर्न रिजन खेल्ने १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी ईस्टन रिजन ट्वान्टी–२० क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।

फागुन १७ गतेदेखि २३ गतेसम्म थाइल्यान्डमा हुने प्रतियोगिताका लागि क्यानले शुक्रबार कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

टोलीमा कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र अभिनास बोहरा रहेका छन् । यस्तै कुशल मल्ल, सुशन भारी, पवन शरार्फ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की १४ सदस्यीय टोलीमा रहेका छन् ।

मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर भने आईसीसी विश्वकप लिग २ का क्रममा चोट लागेपछि अहिले आराम गरिरहेका छन् ।

नेपालले घोषणा गरेको टोलीमा किशोर महतो पहिलो पटक राष्ट्रिय टोलीमा परेका खेलाडी हुन् । उनले घरेलु फ्रेन्चाईजी लिगमा राम्रो गरिरहेका उनले पहिलाे पटक राष्ट्रिय टोलीमा अवसर पाएका हुन् ।

सन २०१७ मा राष्ट्रिय टोलीबाट ब‌ंगलादेशमा भएकाे एसीसी इमर्जिङ टिम्स कप खेलेका थिए भुवन कार्कीले राष्ट्रिय टाेलीमा पुन: स्थान बनाउन सफल भएका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा छन् भने व्यवस्थापकमा माधव कुमार कर्माचार्य, फिजियोमा विक्रम न्यौपाने र भिडियो एनालिसिष्टमा रमन सिवाकोटी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button