तपाईँ सुन्दै हुनुहुन्छः

बार्जुकोट दरबारलाई सङ्ग्रहालय बनाइने

मार्तडी। जिल्लाको बूढीगङ्गा नगरपालिका–४ कोटमा अवस्थित भग्नावशेषका रुपमा रहेको बार्जुकोट दरबारलाई सङ्ग्रहालय बनाइने भएको छ । नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले नगरपालिका क्षेत्रको ऐतिहासिक तथा पुरातत्वका रुपमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन तथा संरक्षण गरिने बताउनुभयो ।

शुक्रबार बार्जुकोट दरबारमा सुदूर साहित्य प्रतिष्ठान बाजुरा शाखाले आयोजना गरिएको गलज गुञ्जन कार्यक्रममा नगर प्रमुख शाहले दरबार क्षेत्रमा विभिन्न अलौकिक वस्तुको जगेर्ना गर्दै उक्त सङ्ग्रहालय बनाउन आवश्यक रहेको आँैल्याउनुभयो ।

नगर क्षेत्रभित्रका दशवटै वडामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावनालाई प्रवद्र्धन तथा प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि सङ्ग्रहालयका रुपमा स्थापना गर्न जरुरी रहेको नगर प्रमुख शाहको भनाइ छ ।

नगरपालिकाका बाजुकोट दरबार र कुँडीकोट दरबारलाई सङ्ग्रहालयका रुपमा स्थापित गर्दै ती क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने उहाँको जोड थियो । पुरातात्विक सम्पदाका रुपमा दरबार रहेकाले संरक्षणको जिम्मेवारी नगरपालिकाको रहेको शाह बताउनुहुन्छ ।

बार्जुकोट दरबार राज्यको भन्दा पनि कुनै एक व्यक्तिका नाममा रहेकाले सो क्षेत्रमा संरचना बनाउनका लागि व्यक्तिसँग अनुमति लिएर मात्र निर्माण गर्नुपर्ने बाध्यता छ । बाइसे चौबिसे राज्य हुँदा बार्जुकोट दरबारका राजाले राज्य सञ्चालन गरेको किंवदन्ती रहेकाले सो जग्गा राज्यको नाममा नरहेको पाइएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेका सम्पदाको उजागर गर्न नगरपालिका तयार रहेको प्रमुख प्रशासकीय अधिकृत तिलक थापाको भनाइ छ । कला साहित्यको संरक्षण तथा सम्वद्र्धन गर्न नगरपालिकाले साहित्य सङ्ग्रह प्रकाशन गर्ने भएको छ । नगर क्षेत्रका साहित्यकारका रचनालाई परिस्कृत गरेर उनीहरुका गजल, मुक्तकलगायतका प्रकाशन गर्ने र सङ्ग्रहका रुपमा राखिने भएको छ । हरेक वर्ष हुने प्रयण दिवसका अवसरमा वा प्रत्येक महिनामा नगर क्षेत्रभित्र कथा, कविता, गजल, मुक्तकलगायतका साहित्य कार्यक्रम गरिँदै आएको छ ।

बार्जुकोटमा गजल गुञ्जन

बूढीगङ्गा नगरपालिका–४ कोटमा रहेको बार्जुकोट दरबारमा गजल गुञ्जन कार्यक्रम सञ्चालन गरिएको छ । दरबारको ऐतिहासिक प्रचारप्रसार गर्न र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने गरी सुदूर साहित्य प्रतिष्ठान बाजुराले उक्त ठाउँमा गजल गुञ्जनको आयोजना गरेको सुदूर साहित्य प्रतिष्ठान बाजुराका अध्यक्ष हर्कबहादुर खडायतले बताउनुभएको छ ।

स्रष्टाको सम्मान बार्जुकोट दरबारको पहिचानसहित उक्त कार्यक्रम गरिएको अध्यक्ष खडायतले बताउनुभयो । नगरपालिकाको संयोजन र प्रतिष्ठानको आयोजनामा जिल्लाका एक दर्जन साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

अधिकांश गजलकारले देशमा भएका व्यथितिको अन्त्य र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रचारप्रसार गर्नुपर्ने सन्देशसहितका गजल प्रस्तुत गरेको प्रतिष्ठान बाजुराका सचिव कृष्ण ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार बार्जुकोट दरबारमा महेश जोशी, प्रमिला थापा, नरेन्द्र थापा, मीनप्रसाद जैशीलगायतका स्रष्टाले गजल वाचन गरेको बताउनुभयो । गजल गुञ्जन कार्यक्रममा सोही नगरपालिकाको थुमा माध्यमिक विद्यालयका विद्यार्थीले समेत गजल वाचनमा सहभागी भएको आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button