तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा म्याराथनको उपाधि जापानलाई, दोस्रो र तेस्रो स्थानमा नेपाल

पोखरा । पोखरामा शनिबार भएको १४औं संस्करणको सफल पोखरा म्याराथनमा जापानी धावक युशुकी नाकाशाकी पहिलो स्थान हासिल गर्न सफल हुनुभएको छ ।

४२.१९५ किलोमिटर लामो दौड दुई घण्टा २६ मिनेट ५१ सेकेण्डमा पार गर्दै नाकाशाकीले पहिलो स्थान अ‍ेगट्न सफल हुनुभयो ।

यस्तै,१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक बिजेता नेपाली धावक किरणसिंह बोगटी पोखरा म्याराथनमा दुई घण्टा २७ मिनेट ८ सेकेण्डमा लक्षित दूरी पार गरि दोस्रो हुनुभयो । प्रतियोगितामा नेपाली धावक अनिष थापा तेस्रो हुनुभयो ।

४२.१९५ किलोमिटर पूर्ण म्याराथनमा विभिन्न ११ वटा देशका एक सय २५ जना धावक सहभागी भएका थिए ।

पोखरा म्याराथन अन्तर्गत भएको बिभिन्न इभेन्टमा दुई हजार बढीले सहभागिता जनाएका थिए । जसमध्ये १० किलोमिटर पुरुष दौडमा पूर्णबहादुर कार्की पहिलो, याङदेव राई दोस्रो र आशिष कुँवर तेस्रो हुनुभयो महिलातर्फ इन्द्रकला नेम्वाङ पहिलो, अनिता राई दोस्रो र विदेशी धावक वाइन्ची तेस्रो स्थानमा रहनुभयो ।

प्रतियोगिताका विजेताले दुई लाख, दोस्रो हुनेले एक लाख र तेस्रो हुने धावकलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

महिला र पुरुष दुबैतर्फका १० किलोमिटर दौडका बिजेतालाई १५ हजार, छात्र–छात्राको पाँच किलोमिटर दौडका बिजेतालाई १० हजार र दृष्टिविहिन पुरुष तथा महिला विजेतालाई पाँच हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रतियोगितामा ‘रन फर फन’का लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साल, पोखरा महानगरका मेयर मानबहादुर जिसी लगायत हजारौं पोखरेली दौडिएका थिए ।

प्रतियोगितामा धावकको स्वागत गर्न पोखराका टोल टोलमा विभिन्न संघ– संस्था र आमा समुहले बाजा गाजा र साँस्कृतिक झाँकी सहित स्वागत गरेका थिए ।

प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनेहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, गण्डकी प्रदेश सभा सदस्य मोहन रेग्मी लगाएतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button