तपाईँ सुन्दै हुनुहुन्छः

संघीयतालाई मजबुद बनाउने कार्यमा सरकार लागेको छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार गठन भएको दुई वर्षको अवधिमा संघीयताको संस्थागत बिकासका लागि कानूनको निर्माण सहितको अनेकन कार्य गरेको बताउनु भएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश नंं २ को सरकार गठन भएको दुई वर्ष पुरा भएको अवसरमा आज मुख्यमन्त्रीको निवासमा प्रदेश सरकारको मन्त्रीहरुको उपस्थितिमा गर्नु भएको पत्रकार सम्मेलनमा संघीयतालाई मजबुद बनाउनका लागि प्रदेशका लागि चाहिने २३ वटा कानून प्रदेश सभाबाट पारित भएकोे, ८० वटा कानून तयारीको अवस्थामा रहेको, २२ वटा कानून प्रदेशसभाको विधायन समितिमा छलफलका लागि रहेको बताउनुभयो ।

उहाँले प्रदेश नंं २ का सरकारले संघीयताको लागि रोलमोडलको रुपमा कार्य गरेको देशका सबै प्रदेश तथा बुद्धिजीविहरुले स्वीकार गरेको बताउदै संघीयताको रक्षा गर्दै प्रदेश नंं २ लाई समृद्धि र बिकासको बाटोमा अग्रसर गराउने कार्य भएको बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेश प्रहरी ऐन पारित गरेको र प्रदेश लोकसेवा आयोग गठन गरेर आयोगले पाठ्यक्रमको निर्माणमा अग्रसर भईरहेको बताउदै प्रदेशमा चाँडै आवश्यक कर्मचारी भर्नाका लागि समानुपाति तथा समावेशी सिद्धान्त अनुसार विज्ञापन गर्न लागेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले महिला सशक्तिकरण अन्तर्गत बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम सञ्चालन गरेर छोरीलाई भ्रुणमा नै हत्या गर्ने सोचमा परिवर्तन ल्याउनका लागि छोरी शिक्षा विमा कार्यक्रम अगाडी बढाएको र एक लाख रहेको विमाको रकमलाई बढाएर तीन लाख पुर्याएकोे बताउनुभयो ।

त्यसैगरी भौतिक पूर्वाधार, कृषि, पर्यटन क्षेत्रको बिकासलाई उच्च प्रथमिकतामा राखेकोे बताउदै शहिद परिवारको जीवनयापनका लागि निःशुल्क भैसी वितरण गर्ने कार्य गरेको, शहिद परिवारलाई रोजगारी दिने काम भएको, जनकपुर अञ्चल अस्पतालको स्तर बृद्धि गरी प्रादेशिक अस्पतालको रुपमा रुपान्तरण गरेर सुविधा सम्पन्न बनाइएको बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले दुई वर्षको अवधिमा २६ बँुदाको उपलब्धिसहितको विवरण पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै दलित वर्गको उत्थानका लागि दलित सशक्तिकरण विधेयक ल्याई दलितका लागि बिभिन्न प्रकारको कार्य अगाडी बढाईसकेको बताउनुभयो ।

एक प्रश्नको जवाफमा मुख्यमन्त्री राउतले प्रदेश नंं २ को सरकार जनताको म्याण्डेड अनुसार दुई दलको संयुक्त सरकारको रुपमा गठन भएको छ त्यो अनुसार पुरा पाँच वर्षसम्म सञ्चालन हुने तथा सरकार परिवर्तको कुनै सम्भावना नभएको स्पष्ट पार्नुभयो ।

उहाँले प्रदेशमा सुशासनको अनुभूति गराउनका लागि भएका कमी कमजोरीहरु पनि सच्याएर प्रदेश सरकार अगाडी बढ्ने पक्षमा रहेको बताउदै संघीयतालाई कमजोर पार्ने कुनै प्रकारको खेल आफूहरुलाई स्वीकार नहुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button