तपाईँ सुन्दै हुनुहुन्छः

आमसञ्चार प्रतिष्ठान कानूनबाटै ल्याउँछौँः मुख्यमन्त्री शाही

रासस । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले आमसञ्चार प्रतिष्ठान कानून बनाएर गठन गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज आयोजित नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको प्रथम साधारणसभाको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा कार्यरत पत्रकार र सञ्चालित सञ्चारमाध्यमको व्यवस्थापनका लागि आमसञ्चार प्र्रतिष्ठान गठनमा जोड दिइएको बताउनुभयो ।

पत्रकारको विद्यमान समस्या समाधान गर्न सरकार निरन्तर लागिपरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा समाजमा भ्रम पार्ने कामले मुलुक अलमलमा परेको भन्दै पत्रकारलाई राष्ट्रिय हितमा कलम चलाउन मुख्यमन्त्री शाहीले आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले जवाफदेहीता र पारदर्शिता आजको आवश्यकता भएको बताउनुभयो ।

जनप्रतिनिधि र कर्मचारी जनताको शासक नभई सेवक भएको भन्दै इञ्चार्ज शर्माले राज्यले लिएको लक्ष्य पूरा गर्न सबैलाई समाजवादी म्याराथनमा लामबद्ध हुन अपिल गर्नुभयो ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले पत्रकारिता लाभैलाभको पदमा नुहाउने नभई दुःख गर्ने पेशा भएको बताउनुभयो ।

पुरानो व्यवस्थालाई बदलेर नयाँनयाँ युगको शुरु भइसकेको जनाउँदै उहाँले पत्रकारिताभित्रका विषालु झारलाई उखेलेर फाल्न पनि प्रेस जगतलाई अपिल गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले व्यावसायिक पत्रकारिताको विकासमा महासङ्घ निर्वाध लागेको बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा सदस्य, प्रेस सङ्गठन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार सङ्गठनका प्रमुख, कर्णाली प्रदेशका १० जिल्लाका नेपाल पत्रकार महासङ्घ जिल्लाका अध्यक्ष, प्रदेश पार्षद्, प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button