तपाईँ सुन्दै हुनुहुन्छः

भ्रमण वर्ष–२०२० सफल पार्न पाल्पाको तालपोखरामा डुङ्गा दौड प्रतियोगिता

पाल्पा । नेपाल भ्रमण वर्ष–२०२०लाई सफल पार्न पाल्पा रामपुरको पर्यटकीय तालपोखरामा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको छ ।

नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा छनौटमा परेको तालपोखरामा भ्रमण बर्षलाई लक्षित गरी डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको हो ।

तालपोखरा संरक्षण बिकास समितिको आयोजनामा फागुन ८ गते तालपोखरामा डुङ्गामा दौड प्रतियोगिताको तयारी भएको छ ।

प्रतियोगितामा सहभागीले काठको मात्र डुङ्गा प्रयोग गर्नुपर्ने हुन्छ । एउटा डुङ्गामा दुई जनाले मात्र सहभागीता जनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद सात हजार, द्वित्तिय पुरस्कार पाँच हजार, तृत्तिय पुरस्कार तीन हजार रहेको छ ।

समितिले गतवर्ष पनि डुङ्गा दौड प्रतियोगिता आयोजना गरेको थियो । डुङ्गा दौड प्रतियोगिताका लागि अहिले तालपोखरा वरपरको वातावरण सरसफाई गर्ने कामहरु भइरहेको छ ।

फागुन ९ गते शिवरात्री पर्वका अवसर पारी फागुन ८ गते डुङ्गा दौड र अन्य दिन रामपुर क्षेत्रका प्रचलित भजनकृत, पुजापाठ, सांस्कृतिक कार्यक्रम गरेर मनाइने तयारी रहेको समितिले जनाएको छ ।

फेवातालको स्वरुपमा रहेको तालपोखराले आकारमा सानो भएपनि छोटो समयमा नै पर्यटकको मन लोभ्याउन सफल भएको छ ।
बिभिन्न सञ्चार माध्यममा आएका समाचार सुनेर, हेरेर तालपोखरा आउने आन्तरिक पर्यटकको उपस्थिति दिनहुँ बढ्दै गएको छ ।

यो वर्ष रामपुर नगरपालिकाले रु.२० लाख र नेपाल पर्यटन बोर्डबाट स्तरोन्नती शीर्षकमा रु.२० लाख सहयोग रकमबाट तालपोखराको स्तरोन्नति गरिएको हो ।

करीव रु.४५ लाख बराबरको मर्मत कार्य सम्पन्न भएको छ भने अब बाँकी अझै रु.एक करोड २५ लाखको काम रहेको समितिले जनाएको छ ।

अहिलेसम्म तालपोखराको पर्यटन विकासमा करीव तीन करोडको काम भईसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button