तपाईँ सुन्दै हुनुहुन्छः

दुई सय बर्ष पुरानो पुरातात्विक महत्वका मानेको मर्मत

दोलखा । सदरमुकाम चरिकोटमा रहेको पुरातात्विक महत्वको झण्डै दुई सय बर्ष पुरानो माने संरक्षणको लागि भीमेश्वर नगरपालिकाले सहयोग गरेको छ ।

नगरपालिकाको सहयोगमा चरिघ्याङ टोल सुधार समितिले चरिकोट चरिघ्याङमा रहेको मानेको पुरातत्विक महत्वका साथ मर्मत थालेको टोल सुधार समितिका अध्यक्ष दावाकर्मा लामाले बताउनुभयो ।

माने जीर्ण भएपछि केही समयअघि सिमेन्ट प्लास्टर गरेर मर्मत गरिएको थियो । तर अहिले पुरातात्विक महत्वका साथ मर्मत गर्न पहिले लगाईएको सिमेन्ट निकालेर ढुङ्गा देखिने गरी मर्मत गरिएको टोल सुधार समितिका अध्यक्ष लामा बताउनुहुन्छ ।

ऐतिहासिक दोलखा शहर छुट्टै राज्य हुँदा राजा हायहायको राज्य कालमा लामालाई असिना रोक्न दोलखा ल्याईएको र लामाले दोलखा फोहोर भएकोले बस्न नचाहेपछि चरिघ्याङ डाँडामा लामालाई राखिएको इतिहास रहेको छ ।

त्यसरी चरिघ्याङमा बस्न आएका लामा जातिले आफ्ना कोही आफन्तको मृत्युमा घेवा गर्ने क्रममा बनाएको मानेलाई नगरपालिकाको सहयोगमा पुरातात्विक महत्वका साथ मर्मत गरिएको टोल सुधार समितिका अध्यक्ष लामाले बताउनुभयो ।

चरिघ्याङमा रहेका छ वटा मानेहरु मध्ये एउटा माने दुई सय बर्षभन्दा पुरानो रहेको र अन्य मानेहरु पनि एक सय बर्षभन्दा पुरानो रहेको लामाको भनाई छ । माने मर्मतको लागि भीमेश्वर नगरपालिका वडा नम्बर ३ ले दुई लाख र वडा नम्बर ६ ले दुई लाख ५० हजार सहयोग गरेको टोल सुधार समितिले जनाएको छ ।

लामाहरुमा कुनै आफन्तको मृत्यु हँुदा मृत्यु भएको २१ वा ४९औँ दिनमा घेवा गर्ने प्रचलन रहेको र सो क्रममा मृतकको नाममा माने बनाईने गरिएको लामा समुदायका जेष्ठ नागरिकहरुको भनाई छ ।

चरिघ्याङमा रहेको मानेहरु दुई सय बर्षभन्दा पुराना भएकोले त्यसलाई पुरातात्विक महत्वका साथ पहिले जस्तो अवस्थामा बनाईएको थियो त्यसरी नै मर्मत गर्न नगरपालिकाले सहयोग गरेको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button