तपाईँ सुन्दै हुनुहुन्छः

संवाददाता अधिकारी सम्मानित

काठमाडौँ  – सञ्चारिका समूहका सचिव यशोदा अधिकारी काठमाडौँस्थित राय स्कूलकोे सञ्चारकर्मी सम्मानबाट सम्मानित हुनुभएको छ ।

रेडियो नेपालमा कार्यरत अधिकारीलाई नक्सालस्थित विद्यालयको नयाँ भवनमा आयोजित २० औँ वार्षिकोत्सवमा सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले नगद रु ११ हजारसहित पत्रकार अधिकारीलाई सम्मान गर्नुभएको हो ।

पत्रकारिता र साहित्यमा डेढ दशकदेखि कार्यरत अधिकारी शिक्षा पत्रकार समूहमा समेत आबद्ध हुनुहुन्छ । विद्यालयले हरेक वर्ष एक सञ्चारकर्मीलाई सम्मान गर्दै आएको छ ।

कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक दयानन्द झासहित उत्कृष्ट विद्यार्थी र कर्मचारीलाई काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यबाहक राजदूत डा अजयकुमारले सम्मान गर्नुभयो । बोर्डको परीक्षामा सो विद्यालयका विद्यार्थीले विभिन्न विषयमा ९५ भन्दा प्रति प्रतिशत ल्याई हरेक वर्ष उत्कृष्टमध्येको स्थान हासिल गर्दै आएका छन् ।

न्यायाधीश सिन्हाले राय स्कुलको अत्याधूनिक भवन अवलोकन गर्दा आफूले विद्यालय उमेरमा पाल्पाको तानसेनमा बस्ने टेबुल, कुर्सी नपाएर बोरामा बसेर पढेको स्मरण गर्दै अहिलेको समयमा विद्यार्थीले सुविधासम्पन्न वातावरणमा पढ्न पाएको बताउनुभयो । उहाँले विद्यार्थीलाई आत्मविश्वासयुक्त भई राम्रो नागरिक बन्न आग्रह गर्नुभयो ।

काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले सामुदादियक विद्यालयलाई पनि उत्कृष्ट बनाउन लाग्नुपर्ने र अशल शिक्षा लिएर विद्यार्थीले देशकै लागि केही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलालाई मुलुकको मुख्य पदमा पुगेपछि मुलुकमा विकासले गति पाउने र भ्रष्टाचार कम हुने जनाउनुभयो ।

सो विद्यालयका प्रिन्सिपल केपी पाण्डेले आफहरुले अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि आरम्भरदेखि नै काम गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button