२०७८ साल वैशाख २८ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

लमजुङ दरबारमा प्रहरी पोष्ट

रेडियो नेपाल २०७६ फागुन ५ गते ७:२५

लमजुङ-बेँसीशहर नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित लमजुङ दरबार परिसरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आइतबार पोष्टको शुभारम्भ गर्दै सुरक्षा निकायले इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवारीपूर्वक काम गर्दै नागरिक तथा स्थानीयको मन जित्नुपर्ने बताउनुभयो ।

अस्थायी प्रहरीचौकी स्थापनासँगै यहाँका स्थानीय हर्षित भएका छन् । जिल्लामा यस अस्थायी प्रहरी चौकीसहित तीन वटा अस्थायी प्रहरी चौकी रहेको छ । यस गाउँशहरमा सोह्रौँ शताब्दीमा निर्माण गरिएको लमजुङ दरबार नेपालकै पुरानो दरबार रहेको छ ।

यो दरबार समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको छ । शाह वंशीय राज्यकालको उद्गमथले लमजुङ र त्यसैको विरासत लमजुङ दरबार रहेको छ । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई लमजुङका खजेदुरालगायतले यहाँ ल्याएर राजा बनाएको इतिहास रहेको छ ।

त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा जशमु शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढायो । राजालाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगादी गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ ।

त्यसपछि विभिन्न नामका राजाले यो दरबारबाटै लमजुङको बागडोर सम्हालेको थियो । धेरैपछि यशोबह्मा शाह राजा भयो । उहाँको मृत्युपछि उहाँका जेठा छोरा नरहरि शाह राजा हुनुभयो । उहाँपछि विभिन्न शाह राजा भई लमजुङको अन्तिम राजा वीर शाह रहेको थियो । विसं १८३८ सम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीय बताउँछन् । त्यस्तै यस दरबार नजिकै काउलेपानी घरवास सञ्चालनमा रहेको छ । पर्यटकका लागि समेत सुरक्षामा टेवा पुग्ने देखिन्छ ।

सम्बन्धित

कृषि अनुदान रकममा वृद्धि गरिने

७ घन्टा अगाडि रेडियो नेपाल