तपाईँ सुन्दै हुनुहुन्छः

ऐतिहासिक गलकोटमा मूर्तिकारको जमघट

बलेवा-बागलुङको गलकोटमा आयोजना हुने अन्तर्राष्ट्रिय मूर्तिकार कार्यशालाका सहभागी कलाकार यहाँ आइपुग्नुभएको छ ।

जुन इचिरो सुगीमोतो (जापान ), लिउ याङ्ग( चीन), बिटिनो फ्रान्सेनी( इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), ट लिन लि जेन (ताइवान) जुली ग्ल्यास्पी (क्यानडा), टुटु पटानायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल) ,जर्जलुइज (ब्राजिल)र ल्युड्मेल (युक्रेन) कार्यशालामा भाग लिन बागलुङ आउनुभएको जनाइएकोे छ ।

नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनुहुनेछ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलसहित कालिका भगवती गुठी व्यवस्थापन समिति, जिल्ला प्रशासन र गलकोट क्षेत्रका बासिन्दाले कालिका मन्दिर परिसरमा कलाकारलाई स्वागत गर्नुभयो ।

समितिका अध्यक्ष राजु खड्काले कलाकारलाई भजनकृतनसहित कालिका मन्दिर परिसर घुमाउनुभएको थियो । आजदेखि गलकोट नगरपालिका–५ टेउवामा कार्यशाला शुरु हुँदैछ । सहभागिकलाकारले फागनु २१ गतेसम्म टेउवामा बसेर मूर्ति कुद्ने छन् । विशेष गरी मानव जीवनका लागि उपयोगी, इतिहास र संस्कृतिसम्बन्धी मूर्ति कुँदिने योजना बनाइएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले जानकारी दिनुभयो ।

गलकोट ऐतिहासिक कोट भित्र रहेको छ । यहाँको धेरै इतिहास र कलासमेत रहेको बताइन्छ । कलालाई पुनर्जागरण गर्ने, विदेशमा भएका कतिपय कलाकारिता र मानवीय संवेदनासँग जोडिएका मूर्ति कुद्ने काम कार्यशालामा हुने छन् । यसका लागि पाँचदेखि १० टनसम्मका ठूला ढुङ्गा लगेर राखिएको छ ।

ती ढुङ्गालाई तलमाथि चलाउनका लागि डोजरको प्रयोग गरिनेछ । मूर्तिका लागि कलाकारबाट विषय छनोट गरिसकिएको हो । कलाकारले मूर्ति कुद्ने ढुङ्गामा त्यही देशको झण्डासमेत राखिएको छ ।

उनीहरुले दुई सातासम्म त्यही बसेर मूर्ति कुद्ने छन् । यसरी कुँदिएको मूर्तिलाई रक गार्डेनका रुपमा विकास गरिनेछ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिएको घुम्टे जाने बाटैमा पर्ने भएकाले टेउवा आर्कषक विश्रामस्थल पनि हुनेछ ।

सो अभियानका लागि नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । झण्डै डेढ करोड खर्च हुने सो कार्यशालाबाट वर्षेनी त्यत्तिकै आम्दानी गर्न सकिने गन्तव्य बन्न सक्ने जनाइएको छ । गलकोट पुरानो सदरमुकाम पनि हो । विदेशी पाहुना स्वागतका लागि हरिचौर बजार र टेउवालाई चिटिक्क पारिएको स्थानीय मन्जेसबम मल्लले जानकारी दिनुभयो ।

टेउवामा स्थानीयले जग्गासमेत दिएका छन् । ढुङ्गाको मूर्ति कुँदिएकाले वर्षौंसम्म नबिग्रने र सयौँ वर्षपछि पनि अध्ययन केन्द्रको रुपमा रहने जनाइएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button