तपाईँ सुन्दै हुनुहुन्छः

मौसम केही दिन बदली हुने

काठमाडौं । केही दिनदेखि मौसम सामान्य रहेको नेपालमा बुधबारदेखि बदली हुने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले आज (सोमबार) बिहान दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि नेपालमा पश्चिमी वायुको प्रभाव पर्नेछ।  तर, यसले कति दिन र कस्तो प्रभाव पार्नेछ भन्ने अहिल्यै अनुमान गर्न नसकिने उनले बताइन् ।

पश्चिमी वायु भित्रिएको पहिलो दिन बुधबार देशका पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार बुधबार दिउँसो मौसम देशभर सामान्य बदली हुनेछ भने देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पनि मौसम तथा वर्षाको सम्भावना दिउँसोको जस्तै रहेको बुलेटिनमा उल्लेख छ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने भएकाले बुधबारपछिको अवस्था पछि नै भन्न सकिने मौसमविद् नगरकोटीले बताउनुभयो ।

यसैबीच, आज (सोमबार) पनि मध्य तथा पूर्वी पहाडका आइसुलेटेड (निश्चित एक÷दुई ठाउँ) स्थानमा हल्का वर्षा हुने सम्भावना छ। आजको सम्भावित वर्षाचाहिँ नेपालको स्थानीय वायुबाट विकसित प्रणालीको प्रभावले हुने हो।

अहिले बिहान काठमाडौं उपत्यकालगायत देशका पहाडी भेगका केही स्थान र तराईमा पनि समान्य तुवाँलो लागेको छ। तर यो घाम लागेसँगै क्रमशः हटेर जाने मौसमविद्ले बताएका छन्। सोमबार बिहान पौने ६ बजे लिइएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस छ। दिउँसो अधिकतम तापक्रम २१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

केही दिनयता देशभर तापक्रम बढेको छ र जाडो घटेको छ। फेब्रुअरी महिना सकिएपछि औपचारिक रूपमा हिउँदयाम सकिने र मार्चबाट प्रि–मनसुन सुरु हुने मौसमविद्को भनाइ छ। प्रि–मनुसुन सुरु हुने बेला तापक्रम दिनप्रतिदिन बढ्दै जाने मौसमविद् बताउँछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button