तपाईँ सुन्दै हुनुहुन्छः

द्रुतमार्ग निर्माण कार्य २०८१ सम्म सम्पन्न गर्ने गरी काम शुरु भएको छ : नेपाली सेना

काठमाडौँ । प्रतिनिधिसभा बिकास तथा प्रविधि समितिले  काठमाडौँ– तराई मधेस जोड्ने द्रुतमार्ग निर्माणको आवस्थाबारे आयोजना र सम्बद्ध पदाधिकारीहरुसँग आज छलफल गरेको छ ।

छलफलमा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले नयाँ डिपिआर अनुसार २०८१ साल असार मसान्तसम्म द्रुतमार्ग निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको जानकरी दिनुभयो ।

सचिव पाण्डेले द्रुतमार्ग छोटो समयमा काठमाडौंलाई तराईसँग जोड्ने राणनैतिक महत्वको आयोजना भएकाले यसलाई बिशेष महत्वका साथ सम्पन्न गर्ने गरी सरकार लागिरहेको पनि जानकारी दिनुभयो ।

छलफलमा सांसदहरुले आयोजनामा रहेका रुख कटान, मुआब्जा वितरण, अदालतमा परेको मुद्धालगायत आयोजनाका लागि तोकिएको रकम खर्च नहुने समस्या ठूलो चुनौतिका रुपमा रहेको बताउनुभयो ।

सांसदहरुले देश कै गौरवको रुपमा रहेको आयोजना निर्माणमा ढिलाई हुन नहुने भन्दै काम गर्न सहज वातावरण बनाउन सम्वद्ध पक्षको समयमा नै ध्यान जानु पर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपाली सेनाले नयाँ डिपिआर अनुसार चार लेनको ७२.५ किलोमिटर सडक आर्थिक बर्ष २०८१ सम्ममा सम्पन्न गरिसक्ने गरी योजना तयार भएको जानकारी दिएको छ ।

उक्त द्रुतमार्गको चौडाई पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर हुने, ८७ वटा पुल निर्माण गरिने, सडकको महादेव डाँडा, धोद्रेडाँडा र लेनडाँडामा गरेर ६.४ किलोमिटरमा ३ वटा सुरुङ निर्माण गरिने नेपाली सेनाले जनाएको छ ।

उक्त द्रुतमार्ग निर्माण भएपछि काठमाडौँबाट एक घण्टा दुई मिनेटमा तराईको निजगढ पुग्न सकिने नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button