२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

‘सिकाइ केन्द्रित रुपान्तरण अबको आवश्यकता’

रेडियो नेपाल २०७६ फागुन ५ गते १४:३०

काठमाडौँ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेलले शिक्षा क्षेत्रमा सिकाइ केन्द्रित रुपान्तरण गर्नु अबको आवश्यकता भएको बताउनुभएको छ ।

शिक्षा पत्रकार समूहले आफ्नो २० औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको मौलिक हकमा शिक्षा विषय समावेश, नयाँ शिक्षा नीति जारी र नयाँ कानूनको निर्माण हुनुले शैक्षिक रुपान्तरणको बाटो तय गरेकाले अब स्थानीय तह र शिक्षक तथा समुदायले सक्रिय जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रविधि र सुशासनलाई जोड दिँदै सिकाइ केन्द्रित रुपान्तरण अबको आवश्यकता हो, शिक्षाले दिनुपर्ने ज्ञान, सीप र चरित्र निर्माणका लागि अभिभावकहरुले पनि आफ्नो तर्फबाट रुपान्तरणका लागि हस्तक्षेप गर्न आवश्यक छ, गुणस्तरका नाममा अङ्ग्रेजी भाषा सिकाउ तर नेपाली बिगार्न पाइँदैन ।”

उहाँले शिक्षाका सबै मुद्दा पत्रकारिताका माध्यमबाट उजागर भएको जनाउँदै शिक्षामा पछिल्लो समयमा भएका शिक्षाका ठूलाठूला परिवर्तनलाई स्थान दिन आग्रह गर्नुभयो । मन्त्री पोखरेलले विद्यालय शिक्षा, प्राविधिक र व्यावसायिक शिक्षा तथा उच्चशिक्षासम्बन्धी अलगअलग सङ्घीय शिक्षा ऐन ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षासहित शिक्षामा २५ वर्षे दीर्घकालीन सुधारको खाका तयार गरिएको जनाउनुभयो । शिक्षाविद् केदारभक्त माथेमाले शिक्षामा समुदायको अपनत्व स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । अर्का शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षक र विद्यार्थी दलीय आधारमा नभई रुपान्तरणका लागि स्पष्ट भएर जागरुक हुनुपर्ने बताउनुभयो ।

शिक्षाकर्मी र शिक्षा पत्रकार सम्मानित

कार्यक्रममा सार्वजनिक शिक्षाको रुपान्तरणमा सक्रिय शिक्षाकर्मी र शिक्षा पत्रकारलाई सम्मानित र पुरस्कृत गरिएको थियो । समूहले काठमाडौँको नीलबाराही माविका प्रधानाध्यापक डा जानुका पौडेल नेपाल, बाँकेको सरस्वती माविका व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारु र रुपन्देहीस्थित कान्तिपुर दैनिकका समाचारदाता अमृता अनमोललाई सम्मान गरेको छ ।

पौडेल र थारुलाई उहाँहरुले शिक्षा क्षेत्रमा दिनुभएको योगदानका लागि सम्मान तथा पत्रकार अनमोललाई रु २५ हजार राशिको तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरियो । समूहका तत्कालीन कार्यसमिति सदस्य भुसालको तीन वर्षअघि नवलपरासीको सवारी दुर्घटनामा निधन भएको थियो ।

सम्मानित व्यक्तित्व नेपालले आफू कार्यरत विद्यालयमा प्रधानाध्यापक हुँदा पूर्वाधार अभाव र सय जना मात्र विद्यार्थी रहेकामा हाल उचित वातावरण निर्माणसहित विद्यार्थी सङ्ख्या र गुणस्तर वृद्धि भएको बताउनुभयो । कार्यक्रममा समूहले प्रकाशन गरेको ʻविद्यालयमा माध्यमभाषा′ नामक पुस्तकको विमोचन गरिएको थियो । समूहका अध्यक्ष रोश्ना सुब्बाका अनुसार जारी अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

सम्बन्धित

मौसममा आजदेखि सामान्य सुधार हुने

२६ मिनेट अगाडि रेडियो नेपाल

नेपाल सुपर लीग फूटबलमा आज दुई खेल हुँदै

३१ मिनेट अगाडि रेडियो नेपाल

सगरमाथा आरोहण शुरूः कामीरिताको २५ औँ विश्व कीर्तिमान

२ घन्टा अगाडि सिबी अधिकारी / भोजराज कार्की