तपाईँ सुन्दै हुनुहुन्छः

आफन्तबाटै असुरक्षित बालिका

रुपन्देही। गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४ वर्षीया नाबालिकामाथि बलात्कार गरेका हुन् । पीडकलाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीको मुद्दा चलाएको छ ।

गत पुस ६ गते तिलोत्तमा नगरपालिकामा छिमेकी एक युवकले सात वर्षीय नाबालकमाथि बलात्कार गरे । घरमा कोही नभएको मौका छोपेर बालिकाका छिमेकी १८ वर्षीय बिमल क्षेत्रीले बालिकालाई फकाईफुल्याई शौचालयमा लगेर जबर्जस्ती करणी गरे । बालिकाको योनीबाट रगत बगेपछि परिवारले थाहा पाएर इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी गरे ।

उनलाई पनि अहिले जबर्जस्ती करणीको मुद्दा चलाइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ । तिलोत्तमामै गत मङ्सिर २३ गते बाबुले आठ वर्षीय छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भयो । बलात्कार गर्ने बाबु अहिले जिल्ला प्रहरी कार्यालयमा अपराधको सजाय भोगिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नवीन चुँदालीले जानकारी दिनुभयो ।

गत पुस १९ गते बुटवलको वडा नं ११ मा १४ वर्षीया बालिका बलात्कृत भइन् । स्थानीय २१ वर्षीय विवेक थापाले तीनाउ नदी किनारमा लगेर बालिकालाई बलात्कार गरे । थापाविरुद्ध परिवारले उजुरी दिएपछि उनलाई पनि प्रहरीले मुद्दा चलाएको छ । दश वर्षमुनिका बालबालिकालाई बलात्कार भए १० देखि १५ वर्षसम्मको कैद सजाय हुने कानूनी व्यवस्था छ ।

पछिल्लो समय बलात्कारका घटना बढेका प्रहरी तथ्याङ्कले देखाउँछ । तीमध्ये अधिकांश घटनाहरु आफन्तबाटै हुने गरेका छन् । दुईदेखि ७० वर्षसम्मका वृद्धमाथि बलात्कारका घटना भएका कारण समाजमा किशोरी र महिला असुरक्षित छन् भन्ने देखाउँछ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ३५ बलात्कारका मुद्दा दर्ता भएका छन् जसमध्ये १८ वर्षमुनिका बालिकामाथि बलात्कारका कारण १६ मुद्दा दर्ता छन् ।

गत आव ०७५÷७६ मा ७० वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । तीमध्ये १९ मुद्दा १८ वर्षमुनिका बालिकामाथि बलात्कारका कारण दर्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो । “अपराधमा परिवार नातेदारका व्यक्ति नै संलग्न हुनु गम्भीर विषय हो, यस्तो आपराधिक मनोवृत्तिलाई निरुत्सहित गर्न परिवार र समुदाय सचेत हुनुपर्छ”, प्रवक्ता खत्रीले भन्नुभयो ।

बलात्कारका घटनाले गर्दा बालिका र किशोरी विद्यालयमा समेत असुरक्षित महसुस गर्छन् । बलात्कारका घटनाले अभिभावक र विद्यार्थीमा नकारात्मक छाप परेको छ । “केही कारणले विद्यालयमा ढिलाइ भयो भने अभिभावकहरु आत्तिएर विद्यालयमै आइपुग्नुहुन्छ”, लुम्बिनी सांस्कृतिक नगरपालिकाको अमारी प्राथमिक विद्यालयका शिक्षक लक्ष्मी मिश्रा भन्नुहुन्छ । बलात्कारका घटनाका कारण विश्वासको कमी हुँदा विद्यालय र समाजमा आपसी मित्रता, भाइचारको सम्बन्ध हराउँदै गएको उहाँको भनाइ छ ।

अधिवक्ता इन्दिरा आचार्यले घटनाका प्रकृति हेर्दा समाजमा छोरीहरु असुरक्षित छन् भन्ने देखिएको बताउनुभयो । “आर्थिक रूपमा कमजोर मानिसमाथि यस्ता घटना बढी भएका छन्”, आचार्य भन्नुहन्छ, “आपराधिक मनोवृत्तिका मानिस समाजमा भएकाले अभिभावक बढी सचेत हुनुपर्छ ।” समाजमा हुने कतिपय घटना बाहिर आउँदैनन् । अर्थिक रूपमा सक्षमहरूले घटना भित्रभित्रै लुकाउने र मिल्ने गरेको पाइन्छ ।

“हाम्रो क्षेत्रमा पनि हिंसा र बलात्कारका घटना भएको सुनिन्छ तर सामाजिक प्रतिष्ठाका कारण भित्रभित्रै मिलाउँदा प्रहरीको पुग्न पाउँदैन”, आचार्य भन्नुहुन्छ । कतिपय पीडक सम्पन्न वर्गबाट पनि हुने गरेको र त्यस्ता व्यक्तिबाट भएका घटना आर्थिक प्रलोभन र राजनीतिक पहुँचका कारण बाहिर आउन नसकेको उहाँको भनाइ छ । बुबा, दाजु र छिमेकीबाट समेत छोरीहरु असुरक्षित भएपछि विश्वास कसलाई गर्ने ? आचार्य प्रश्न गर्नुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button