तपाईँ सुन्दै हुनुहुन्छः

बन्दैछ झापामा अलैंचीको सूचना तथा अनुसन्धान केन्द्र

भद्रपुर, झापा । बहुमूल्य नगदे बाली अलैंचीसम्बन्धी सबै खाले जानकारी सहज ढंगले उपलब्ध गराउन सक्ने गरी झापाको विर्तामोडमा निर्माण शुरु गरिएको अलैंची सूचना तथा अनुसन्धान केन्द्रको निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

अलैंची व्यवसायीहरु कै आर्थिक सहयोगमा विर्तामोड–७ को हर्कलाल मार्गमा खरिद गरिएको दुई कट्ठा दुई धुर जग्गामा निर्माण भइरहेको सुचना तथा अनुसन्धान केन्द्र एवम् सचिवालय भवन नेपाल अलैंची व्यवसायी महासंघको व्यवस्थापनमा सञ्चालन हुनेछ ।

भूइँतलामा सभाहल र सचिवालय एवम् पहिलो तलामा व्यवस्थित सूचना तथा अनुसन्धान केन्द्र सञ्चालन गर्न निर्माणाधीन भवनको भूइँतलाको सम्पूर्ण काम चाँडै सक्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले जानकारी दिनुभएको छ ।

भवन निर्माणका लागि हालसम्म व्यवसायीहरुबाटै आर्थिक सहयोग लिइएको बताउँदै व्यवस्थित र प्रविधिसम्पन्न सूचना केन्द्र सञ्चालनका लागि कृषि मन्त्रालयले पनि चाँसो दिएको महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिनुभयो । मन्त्रालयले सो भवनलाई अलैंचीको अनुसन्धान केन्द्रको रुपमा विकास गर्नसमेत सुझाव दिएको र त्यसका लागि मन्त्रालयले सहयोग गर्ने आश्वासन आफूहरुले पाएको भट्टराईले बताउनु भएको छ ।

सो भवनको दोस्रो तलासम्मको लागत स्टिमेट दुई करोड रहेको छ ।

नेपालमा वार्षिक लगभग पाँच हजार मेट्रिकटन अलैंची उत्पादन हुने पाँच अर्ब बराबरको वैदेशिक मुद्रा आर्जन हुने गरेको छ ।

उत्पादनको ९५ प्रतिशतभन्दा बढी निर्यात हुने नेपाली अलैंचीले वैदेशिक व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको महासंघका अध्यक्ष राजकुमार कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button