तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा स्वास्थ्य बीमा कार्यक्रम शुरु

पर्वत । पर्वतमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । जिल्लाका सात वटा पालिकाका ६१ वटै वडा समेट्ने गरी आजबाट स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो ।

स्वास्थ्य बीमा बोर्डले एक कार्यक्रमको आयोजना गरी बीमा कार्यक्रम शुरु भएको घोषणा गरेको हो । स्वास्थ्य बीमा गर्नेमा नेपालभरमा पर्वत जिल्ला ५२औँ र गण्डकी प्रदेशमा सातौँ जिल्ला भएको छ ।

जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि प्रत्येक वडामा एक जना दर्ता सहयोगी परिचालन गरिएको छ । दर्ता सहयोगीले घरघरै पुगेर मानिसहरुलाई बीमामा आवद्ध गराउने जनाईएको छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, उपप्रमुख यामकुमारी राना, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेललाई बीमा सदस्यता हस्तान्तण गरी पर्वतमा स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको घोषणा गर्नुभयो ।

पर्वतको कुल जनसंख्या एक लाख ४६ हजार पाँच सय ९० मध्ये चालु बर्ष दुई तिहाई जनसंख्यालाई समेट्ने लक्ष्य राखेको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका प्रमुख जीवनाथ खरेलले जानकारी दिनुभयो ।

खरेलका अनुसार परिवार सदस्य पाँच जना हुने परिवारले वार्षिक रुपमा प्रति परिवार तीन हजार पाँच सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यको सात सयका दरले थप रकम तिनुपर्नेछ ।

बीमामा आवद्ध हुने लाभग्राहीलाई एक लाख रुपैयाँसम्मको उपचार सेवा उपलब्ध हुने खरेलले जानकारी दिनुभयो ।

नेपाल सरकारले नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउने उद्देश्य अनुरुप राष्ट्रिय बीमा नीति २०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति २०७१ बमोजिम आथिक वर्ष २०७२÷७३ बाट स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो ।

शुरुमा कैलाली, बागलुङ र ईलाम जिल्लाबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो । अहिलेसम्म बीमा कार्यक्रम ५२ जिल्लामा लागु भईसकेको छ ।

चालु वर्ष ७७ वटै जिल्लामा कार्यक्रम बिस्तार गर्ने योजना रहेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button