तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय क्षेत्र खुम्बुलाई ह्यूमपाइपले जोडेपछि पर्यटकलाई सहज

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ फुलेली र माप्यदूधकोशी गाउँपालिका–१ मा पर्ने दूधकोशी नदीमा ह्यूमपाईप बिच्छ्याएपछि खुम्बुसँग सिधा यातायात सञ्चालनमा आएको छ ।

जिल्लाको सबैभन्दा धेरै पर्यटक आउने खुम्बुपासाङल्हमू गाउँपालिकाको खरिखोलासम्म यातायात सञ्चालनमा आएको सोलुदूधकुण्ड नगरपालिका–१ का अध्यक्ष छोङ्बा लामाले जानकारी दिनुभयो ।

नगरपालिकाको करिब साँढे १३ लाख रुपियाँको कुल बजेटमा आठ वटा ह्यूमपाईप विच्छ्याएपछि हिमाली पर्यटनको केन्द्र खुम्बु जान सडक यातायातबाट सहज हुने भएको छ ।

खुम्बु सडक सञ्जालमा जोडिएपछि स्थानीयका साथै सडक मार्गबाट आउने पर्यटक बढ्ने र तल्लो सोलुको पर्यटनमा समेत टेवा पुग्ने वडा अध्यक्ष लामाले बताउनुभयो ।

सवारी सञ्चालनमा आएपछि त्यस भेगका स्थानीयले सदरमुकाम सल्लेरी आउन फाप्लुमा हवाई जहाज ओर्लिएर सडकबाट पर्यटकलाई खुम्बु जान सहज भएको खुम्बुपासाङल्हमू–१ खरिखोलाका शिक्षक तिलक रानामगरले बताउनुभयो । अब पैदल हिडेर नुनथलासम्म आएर गाडी चढ्नुपर्ने बाध्यताका अन्त्य भएको उहाँको भनाई छ ।

सडकको उद्घाटन गर्दै नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पा र काँग्रेस सोलुखुम्बुका पूर्व सभापति आङगेलु शेर्पाले नगरबासीको बिकासमा कुनै कसर बाँकी नराखी जनताको आवश्यकताको आधारमा विकासका काम अघि बढाउने बताउनुभयो । यस पुलले नेपाल सरकारको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने अभियानमा सहयोग गर्ने मेयर शेर्पाको भनाइ छ ।

सल्लेरीसम्म गुडेर आउने वातावरण बनेपछि स्थानीय खशी भएका छन् । खरिखोलाका भलाकाजी मगरले अस्थायी रुपमा भएपनि सिधा यातायात जोडिएपछि सहज भएको बताउनुभयो । उहाँ जस्ता धेरै स्थानीयले यसअघि घण्टाँै लगाएर उकाली–ओराली गर्दै सदरमुकाम धाउनुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button