२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रजातन्त्र दिवसविशेषः प्रजातान्त्रिक आन्दोलनमा चितवन

रेडियो नेपाल २०७६ फागुन ६ गते १४:१९

चितवन । नेपालको राजनितिक आन्दोलनको इतिहासमा चितवन सदैव अग्रणी स्थानमा रहेको छ । देशको मध्य भागमा रहेको मिश्रित समाजयुक्त चितवनलाई केहीअघिसम्म नेपालको ७६ आँैं जिल्ला मानिन्थ्यो । नयाँ संविधानले नवलपरासी र रुकुमलाई दुई दुई जिल्ला गरी नेपालमा ७७ जिल्ला बनाएपछि अब त्यसो भन्ने स्थिति रहेन । यातायात, स्वास्थ्य, सञ्चार र शिक्षा जस्ता सेवा क्षेत्रका साथै राजनीतिक चेतनामा पनि अग्रणी जिल्ला भएका कारण हरेक आन्दोलनमा चितवन आफूलाई निर्णायक आन्दोलनको एउटा महत्वपूर्ण पाटोका रुपमा क्रान्तिलाई साथ, सहयोग र मलजल गर्ने जिल्ला बन्यो ।

नेपालको राजनीतिक परिवर्तनमा राणा वि’रोधीदेखि लोकतन्त्र स्थापनासम्मका आन्दोलनमा यसले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । चाहे त्यो विसं २००७, २०१४, २०१७÷१८, २०३६, २०४६ का आन्दोलन होऊन् वा ०६२÷०६३ को युगान्तकारी दोस्रो जनआन्दोलन होस्, सामाजिक रुपान्तरणसहित राजनीतिक परिवर्तनका लागि पटकपटक भएका सङ्घर्षलाई निर्णायक विन्दुमा पु¥याउन जिल्लाले आफूलाई परिवर्तनको पक्षमा उभ्याउँदै आएको छ ।

विस. २००७ ताका चितवनमा आदिवासीको मात्रै बसोबास थियो । त्यतिबेला भएको जहानियाँ शासनविरुद्धको युगीन परिवर्तनको घडीमा पनि जिल्लाको महत्वपूर्ण हात रह्यो । पछि पूर्वाधार र विकासको बाटामा अघि लम्कँदै गरेको बेला देशका ७४ जिल्लाका मानिसको साझा बासस्थान हुँदाका बखतका कतिपय आन्दोलनका साथै २०६२÷०६३ मा भएको आन्दोलनमा समेत चितवनले परिवर्तनलाई आत्मसात् गरिरह्यो । ‘नेपालको राजनीतिमा चितवन’ विषयमा विद्यावारिधि गर्नुभएका प्रा डा राजेन्द्रप्रसाद रेग्मी २००७ सालमा राजनीतिक चेतना अति न्यून हुँदा पनि तत्कालीन सदरमुकाम उपरदाङगढी कब्जा गरी राणविरोधी सङ्घर्षलाई अघि बढाएको बताउनुहुन्छ ।

“नेपाली काङ्ग्रेसले गठन गरेको मुक्तिसेनाले राणाशासन विरोधी आन्दोलनका क्रममा वीरगञ्ज हुँदै तत्कालीन चितवनको व्यापारिक नाका ठोरी, शीतकालीन सदरमुकाम झुवानी तथा गृष्मकालीन सदरमुकाम उपरदाङगढी नियन्त्रणमा लिएको घटना चितवनको राजनीतिक परिदृश्यमा तरङ्ग पैदा गराउने कोशेढुङ्गाका रुपमा काम ग¥यो”, प्रा. डा रेग्मीले भन्नुभयो, “२००७ साल फागुन ७ गतेको शाही घोषणापछि मुक्ति सेनाले चितवन कब्जा गरेको घटना नेपाली राजनीतिको चर्चित र जीवन्त घटनाका रुपमा इतिहासमा अभिलिखित छ ।”

कांग्रेसले संविधानसभाको मागका साथ ‘भद्र अवज्ञा आन्दोलन’ भन्दै विसं २०१४ मङ्सिर २२ गतेदेखि सत्याग्रह गर्ने निर्णय ग¥यो । सोहीअनुरुप चितवनमा बखानसिंह गुरुङ, विश्वबन्धु थापा, उदयनाथ अधिकारी र किशोरचन्द्र ढुङ्गानाको नेतृत्वमा सत्याग्रह आन्दोलन शुरु भएको रेग्मीले स्मरण गराउनुभयो । उहाँका अनुसार सत्याग्रह आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुरुप मङ्सिर २२ गतेदेखि तत्कालीन सदरमुकाम उपरदाङगढीमा धर्ना कार्यक्रम शुरु भयो । चितवनलगायत देशका विभिन्न स्थानमा सत्याग्रह प्रभावकारी हुँदै गएपछि राजा महेन्द्रले विसं २०१५ फागुन ७ गतेदेखि आमनिर्वाचन प्रारम्भ गरिने घोषणा गरेको रेग्मी स्मरण गर्नुहुन्छ ।

राजाले संसद् भङ्ग गरी विसं २०१७ पुस १ गते राजनीतिक दलका नेताहरूलाई बन्दी बनाएपछि यहाँका विभिन्न दलका नेता कार्यकर्ता भारत प्रवेश गरे । निर्वासित नेता कार्यकर्ता भारतको पटनामा भेला भएर माघ १२ गते एक विशेष सम्मेलन गरी राजाविरोधी आन्दोलन गर्ने निर्णय भयो । ती नेताकार्यकर्तालाई लामो प्रशिक्षण दिएपछि विसं २०१८ माघ २६ गते जिल्लाको सदरमुकाम उपरदाङगढी कब्जा गरियो । यसको नेतृत्वमा यसै जिल्लाबाट निर्वासनमा रहेका नेताकार्यकर्ताको अगुवाइ रहेको थियो ।

विसं २०३६ मा शुरुमा विद्यार्थीले शैक्षिक माग राखेर आन्दोलन शुरु गरे । पछि उक्त आन्दोलन देशव्यापी बन्यो । सोही क्रममा २०३६ वैशाख २० गते भरतपुरमा आन्दोलन चर्कियो । रेग्मीको भनाइअनुसार सोही आन्दोलनमा गोली चल्दा दुई जना शहीद भए ।

जनमतसङ्ग्रह जनताको पक्षमा हुन सकेन । त्यसपछि कांग्रेस र कम्युनिष्ट पार्टीले जिल्लामा वृक्षरोपण, रक्तदान, सरसफाइ जस्ता रचनात्मक कार्यक्रममार्फत सरकारको विरोधलाई जारी राखे । यससँगै विद्यार्थी, प्राध्यापक, शिक्षक सङ्गठित भएको देखिन्छ । विसं २०४२ को सत्याग्रहमा जिल्लामा सात सयभन्दा बढी नेताकार्यकर्ता गिरफ्तार भएका थिए । शासकको थिचोमिचो र दमनविरुद्ध विस्तारै दन्किँदै गएको आगो, प्रजातन्त्रप्रतिको जनताको मोह र चेतनाको दियोमा तेल थप्ने काम चितवनले गरिरह्यो । त्यसैको दृष्टान्त थियो २०४६ सालको आन्दोलनलाई अघि बढाउन यहाँका प्रजातन्त्रप्रेमीले गरेको साथ र सहयोग ।

त्यसबेला कांग्रेस र संयुक्त वाम मोर्चाबीच संयुक्त रुपमा आन्दोलन अघि बढाउने सहमति भएअनुसार जिल्लामा कांग्रेसका तर्फबाट कृष्णलाल सापकोटा र वाममोर्चाका तर्फबाट नरबहादुर खाँडले नेतृत्व गर्नुभएको थियो । आन्दोलन चर्कदै जाँदा उर्लिएको जनप्रदर्शनमा गोली चल्दा यहाँ चार जनाले शहादत प्राप्त गरे । उक्त आन्दोलनमा चितवनका गणेश पौडेल पहिलो शहीद हुनुभएको थियो । देशैभर फागुन ७ गते अपराह्न १ बजे झण्डा प्रदर्शन गर्ने कार्यक्रम रहेकामा १ बजेर ५ मिनेट जाँदा पौडेलमाथि गोली प्रहार भएको थियो । सो आन्दोलनमा हजारौंँ सर्वसाधारण सडकमा उत्रिएका थिए । सङ्घर्षको साथसाथै शहादतको सो शृङ्खला २०६२÷०६३ को आन्दोलनको बेला पनि जारी रह्यो, ठूलो सङ्ख्यामा गिरफ्तारी भयो । कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) लगायत आठ दलको आह्वानमा जनता सडकमा उत्रिए । उक्त आन्दोलनमा पनि चितवन होमियो र एक जनाले शहादत प्राप्त गरे ।

प्रजातान्त्रिक आन्दोलनका सेनानी महेश्वरलाल श्रेष्ठ हरेक प्रजातान्त्रिक आन्दोलनमा चितवन जिल्ला र यहाँका बासिन्दाको साथ र सहयोग मात्र हैन नेतृत्वदायी भूमिकासमेत हुने गरेको बताउनुहुन्छ । विसं २०१८ को आन्दोलनका योद्धा श्रेष्ठ त्यसपछि हरेक आन्दोलनमा अग्रणी मोर्चामा रहेर लोकतन्त्रका लागि लडिरहनु भएको छ । उहाँले भन्नुभयो, “काठमाडौँ हरेक ंपरिवर्तनमा मुख्य दृष्टिमा परे पनि चितवनले निर्णायक भूमिका खेल्ने गरेको थियो ।” भारतीय सीमा क्षेत्र भएकाले सबै आन्दोलनका तयारी र बन्दोबस्ती गर्न मिल्ने भएकाले यहाँको आन्दोलनलाई सहयोग पुगेको उहाँको ठम्याइ छ । राजधानी काठमाडौंँ सत्ताधारीहरुको उच्च निगरानीमा हुने भएकाले राजधानी बाहिर हुने तयारी चितवनमै हुने गरेको उहाँ स्मरण गर्नुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुराना नेता विष्णु घिमिरे २०२५ साल यताका हरेक आन्दोलनमा अग्रणी भूमिकामा हुनुहुन्छ । शिक्षक आन्दोलनमार्फत वामपन्थी राजनीतिमा होमिनुुभएका घिमिरे यहाँका आन्दोलनमा शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ । मिश्रित समाज रहेका कारण यहाँ कुनै सामन्ती सोच नभएको बताउँदै उहाँले भन्नुभयो, “यहाँका नागरिकमा राजनीतिक चेतना उच्च रहेका कारण हरेक आन्दोलनमा जिल्लाले नेतृत्वदायी भूमिका खेलेको छ ।” तत्कालीन जिल्ला विकास समितिका सभापति भइसक्नु घिमिरेले नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनको इतिहासमा चितवनलाई बिर्सन नहुने बताउनुभयो । जुनसुकै आन्दोलनमा गाउँगाउँबाट समेत जनता उर्लिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “जुन सङ्घर्षबाट उपलब्धि प्राप्त भएको छ, त्यसलाई संस्थागत गर्नुपर्छ ।” नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतालाई कम्युनिष्ट पार्टीको सदस्यता प्रदान गर्नुभएका अग्रज कम्युनिष्ट नेता खम्बासिंह कुँवर तत्कालीन माओवादीको बलले २०६२÷०६३ को आन्दोलन सफल भएको ठान्नुहुन्छ ।

विसं २०११ मा लमजुङ जिल्लामा कम्युनिष्ट नेता पुष्पलालबाट सदस्यता लिनु भएका कुँवर हरेक परिवर्तनकारी आन्दोलनमा चितवन जिल्लाले अग्रणी भूमिका खेलेको बताउनुहुन्छ । देशैभरबाट टाठाबाठा र जाने बुझेकाहरु यहाँ बसाइँ सरी आएकाले पनि आन्दोलनलाई उचाईंमा पु¥याउन सफलता मिलेको उहाँको भनाइ थियो । कुँवरको अनुभवमा यहाँका बासिन्दामा उच्च राजनीतिक चेतना भएकाले हरेक परिवर्तनका आन्दोलनमा जनताको महत्वपूर्ण साथ मिलेको हो । विसं २०१५ देखि चितवनमा बसोबास गर्दै आउनुभएका कँुवर यहाँका हरेक आन्दोलनसँग निकट रहनु भएको छ । हरेक आन्दोलनको आवश्यकता जनताले बुझेकै कारण यहाँको आन्दोलनले सधैंँ उचाइ छुने गरेको उहाँ बताउनुहुन्छ ।

तनहुँको कोत्रेमा २०१८ सालमा बाबु लालध्वज गुरुङ र २००७ सालमा बन्दीपुरमा काका धर्मध्वज गुरुङलाई प्रजातान्त्रिक आन्दोलनमा गुमाउनुभएका चन्द्रध्वज गुरुङ हरेक आन्दोलनमा चितवनबासीको सहभागिता अविस्मरणीय रहेको बताउनुहुन्छ । उहाँका हजुरबा बखानसिंह गुरुङले चितवनमा २००९ सालमा बस्ती बसाल्नुभएको थियो । गुरुङ भन्नुहुन्छ, “हाम्रा बाजे आदिवासीपछि चितवनमा बसोबास गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । त्यसपछि अलिकति जानेबुझेका परिवार मात्रै बसाइँ सरेर यहाँ आएको पाइन्छ ।” उनीहरुकै बलले गर्दा हरेक राजनीतिक आन्दोलनमा जिल्लाले नेतृत्वदायी भूमिका निर्वाह गरेको उहाँ बताउनुहुन्छ । रासस

सम्बन्धित

४ लाखभन्दा बढीको अवैध मल खाद बरामद

१२ मिनेट अगाडि कृष्ण सिंह साउद 

अक्सोमिटरको कालोबजारी गर्ने पक्राउ

४४ मिनेट अगाडि ध्रुव अधिकारी