तपाईँ सुन्दै हुनुहुन्छः

भारत पठाउन लागिएको ठुलो परिणामको चाँदी र तामासहित दुई पक्राउ


भद्रपुर । अवैध रुपमा नेपालबाट भारत लैजान लागिएको ठूलो परिणामको चाँदी र तामाका भाँडाकुँडासहित दुईजना कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मंगलबार झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची खोला नजिकैबाट करिब १० लाख मूल्य पर्ने चाँदी र तामाका भाँडाकुँडासहित काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३४ वर्षीय अजित नगरकोटी र सोही ठाउँका ३८ वर्षीय श्याम सुनुवारलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले बोकेको झोला शंका लागी चेकजाँज गर्दा झोलाबाट चाँदीका कुङ्गा ५ थान, तिङ्ग ठुलो ६२ थान, स्टेनवाला तिङ्ग २६ थान, सानो तिङ्ग २१ थान, सेरगेम ४ थान र फेकुम ४ थान गरी १४ केजी चाँदी र तामाका विभिन्न प्रकारका भाँडाकुँडा २१ केजी गरी करिब ९ लाख ९८ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । यता बरामद गरिएको चाँदी र तामाका भाँडाकुँडासहित दुवै जनालाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button