तपाईँ सुन्दै हुनुहुन्छः

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको होः सभापति देउवा

रासस । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनापछि नै नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्नुभएको छ ।

सत्तरीऔं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज प्रेस वक्तव्यमार्फत उहाँले फागुन ७ गते नेपाली जन–सङ्घर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गर्नुभएको छ ।

विसं २००७ कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले नै १०४ वर्षीय एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना गरेको उहाँले बताउनुभएको छ ।

प्रजातन्त्रले बलियो राष्ट्रियताको आधार पनि निर्माण गरेको र त्यसैले नेपालमा प्रजातन्त्र र राष्ट्रियता एक अर्काका परिपूरक भएर रहेको उहाँको भनाइ थियो ।

देशमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाको लामो सङ्घर्षमा अनेकौं सपूतहरुले प्रजातन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको उल्लेख गर्दै उहाँले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सकेमात्र शहीदप्रति सच्चा सम्मान प्रकट हुने बताउनुभएको छ ।

प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनमा सभापति देउवाले सम्पूर्ण शहीदको त्याग र बलिदानको संस्मरण गर्दै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button