तपाईँ सुन्दै हुनुहुन्छः

राससलाई समयानुकूल सशक्त र प्रभावकारी स्रोतका रुपमा विकास गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समिति (रासस) आफ्नो स्थापनाको ५९औँ वर्ष प्रवेश गरेकामा शुभकामना दिँदै यसलाई समयानुकूल सशक्त र प्रभावकारी स्रोतका रूपमा प्रस्तुत गर्न जोड दिनुभएको छ ।

राज्यको एक मात्र समाचार समितिका रुपमा अविच्छिन्न सेवारत रही सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्दै आएको राससको आवश्यकता राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य प्रणालीको संवद्र्धन र नेपालीको समृद्धिका लागि अझ बढ्दै गएकाले आफ्नातर्फबाट गर्नुपर्ने सहयोग र समन्वयका लागि नेपाल सरकार सदैव तयार रहेको उहाँको सन्देशमा उल्लेख गरिएको छ ।“नेपालको संविधानले प्रेस जगत्लाई पूर्ण स्वतन्त्रताको प्रत्याभूति गरेको छ । वर्तमान सरकार उक्त प्रत्याभूतिलाई संरक्षण, प्रवद्र्धन र कार्यान्वयनका लागि आवश्यक कानून, नीति र संरचनाहरू बनाउँदै प्रेससम्बन्धी कानूनहरुलाई सुदृढ, सबल र व्यवस्थित बनाउन क्रियाशील रहेको अनुभूति सबैले गरिआएको स्पष्ट नै छ”, मन्त्री बाँस्कोटाले भन्नुभएको छ, “सरकार प्रेसलाई सङ्कुचन गर्ने कुनै मनसाय नराखी स्वच्छ आलोचनालाई आत्मसात् गरेर अघि बढिरहेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय नारालाई मूर्त रूप दिन सञ्चार क्षेत्रबाट पनि रचनात्मक सहयोग पुग्नेछ भन्नेमा म विश्वस्त छु ।”

राससले निकट भविष्यमा नै श्रव्यदृश्यलगायत समाचारको एकीकृत सेवा सञ्चालन गर्न लागेकामा खुशी व्यक्त गर्दै उहाँले सोसम्बन्धी सामग्रीबाट देशभर सञ्चालित रेडियो र टेलिभिजन थप लाभान्वित हुने अपेक्षा व्यक्त गर्नुभएको छ । करीब एक दशकदेखि सञ्चालित राससको श्रव्यसेवालाई पनि अझै सुदृढ गरी यसको सेवालाई थप प्रभावकारी बनाइने आशा राखेको उल्लेख गर्दै उहाँले राससले आफूलाई राज्यको सङ्घीय संरचनाको आवश्यकतालाई ध्यानमा राखी सङ्घ र प्रदेश मात्र होइन, स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

“अहिले पत्रकारिताले विश्व कूटनीतिलाई प्रभावित गर्ने क्षमता राख्छ भन्ने विश्वास गरिन्छ । यसरी प्रभावित गर्न हाम्रा नेपाली पत्रकारहरूले पनि मुलुकभित्र र बाहिर विश्वसनीयता र उच्च गुणस्तर कायम गर्दै जानुपर्छ”, मन्त्री बाँस्कोटाले भन्नुभएको छ । भारत र चीनजस्ता हाम्रा सघन सम्बन्ध रहेका छिमेकी देश तथा नेपालीको उल्लेख्य उपस्थिति रहेका अन्य मुलुकमा पनि संवाददाताको व्यवस्था गर्र्दै जानुपर्ने र यसबाट समाचारमा विदेशी माध्यमको निर्भरता घट्दै जाने र अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढ्दै जाने विश्वास मन्त्री बाँस्कोटाको छ ।

“नेपालमा पनि अनलाइन तथा टेलिभिजनका अनेकौंँ सञ्जालहरूको विस्तार भइरहेको र तिनलाई राज्य र जनताको आधिकारिक समाचार सामग्री उपलब्ध गराउने महत्तम जिम्मेवारी राससकै रहेको तर पुरानो सोचले यसलाई अघि बढाउन सक्तैन”, मन्त्री बाँस्कोटाले भन्नुभएको छ । द्रुततर गतिमा निरन्तर विकसित हुँदै गइरहेको प्रविधिको यस जमानामा यसलाई अन्य माध्यमसँग प्रतिस्पर्धा गर्ने क्षमता बढाएर आफ््नो उपयोगिता र अपरिहार्यता सिद्ध गर्न सक्न पनि उहाँले आग्रह गर्नुभएको छ । आफ्ना सेवाग्राही सङ्ख्यामा उल्लेख्य वृद्धि गरी उपलब्ध सम्पत्तिको अधिकतम उपयोग गर्नाका साथै आम्दानीका अन्य स्रोतसमेत पहिल्याएर आफूलाई आत्मनिर्भर बनाउन राससलाई आग्रह गर्दै मन्त्री बाँस्कोटाले राज्यको साझा यस समाचार समितिलाई अझ बलियो बनाई यसका सेवाबाट बढीभन्दा बढी लाभान्वित हुन सम्बद्ध सबै पक्षलाई आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button