२०७८ साल जेठ ३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

रासस वार्षिकोत्सव विशेष : रासस– हिजो, आज र भोलि

कृष्ण अधिकारी २०७६ फागुन ७ गते ७:५७

 काठमाडौं । पछिल्लो समय सङ्ख्यात्मक वृद्धिसँगै बहुआयामिक र गुणात्मक प्रतिस्पर्धामा खरोरुपमा उत्रिन सत्य, तथ्य र वस्तुपरक ढङ्गबाट समाचार सम्प्रेषण गरी राष्ट्रिय समाचार समिति९रासस०ले आफ्नो उपस्थितिलाई व्यापक गराएको छ । झण्डै छ दशकको यात्राको आरोहअवरोहमा मुलुकका अनेक राजनीतिक परिवर्तनसँगै राससले आफूलाई अन्तर्घुलित गराउँदै देश र जनताका पक्षमा निरन्तर समाचार सम्प्रेषण गरी नेपाली पत्रकारिताको इतिहासमा अलग्गै पहिचान दिन सकेको छ । सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनले आमसञ्चारका माध्यममाथि नै सामाजिक सञ्जालका कारण गम्भीर प्रश्नचिह्न खडा गराएको वर्तमान समयमा राससले पनि आफूलाई दरिलोसँग उभ्याउन सक्नुपर्ने चुनौतीलाई अवसरका रुपमा उपयोग गरी अगाडि बढ्न सक्षम हुनु नै यसको अचित्यको पुष्टि गर्न सकिन्छ ।

पत्रकारिताको मेरुदण्ड भनेको यसले प्रवाह गर्ने समाचार वा सूचना र त्यसमा रहेको सन्तुलन हो । सूचना पोषण हो र सन्तुलन त्यसको ऊर्जा । त्यसमा झुकाव हुँदा सन्तुलन तुहिने र आमसञ्चार नै गलत ढङ्गबाट पेश हुने स्थिति आउँछ । समाचार समितिको अर्को सुन्दर पक्ष केलाई मान्न सकिन्छ भने यसमा व्यक्तिगत स्वार्थमा दुरुपयोग हुने सम्भावना कम हुन्छ । यसमा कसैको बढाइचढाइ वा बदनाम गर्ने गरी लेख, टिप्पणी, अन्तर्वार्ता, तस्वीर आदि सम्प्रेषण गरिंँदैन ।

राष्ट्रिय महत्वका विषयलाई प्रायः सबै सञ्चारमाध्यमहरुले महत्व दिएका हुन्छन् तर स्थानीयस्तरका विषयमा सबै सञ्चारमाध्यमको ध्यान पुग्न सकेको हुँदैन । ध्यान पुगे पनि त्यसलाई उनीहरु महत्व दिन चाहँदैनन् । सबै ठाउँमा सञ्चारमाध्यमको पहुँच पनि रहेको हुँदैन । व्यावसायिक रुपमा सञ्चालित सञ्चारमाध्यमले हरेक कुरालाई मुनाफासँग जोडेर हेर्ने भएकाले कुन सामग्री दिँंदा जनताको ध्यानाकर्षण गर्न सकिन्छ र त्यसले आर्थिक रुपमा के कति लाभ पुग्छ अर्थात् विज्ञापन आउँछ आउँदैन भन्ने कुरालाई केन्द्रमा राखेर समाचार वा अन्य सामग्री सम्प्रेषण गर्छन् ।

अन्य सञ्चारमाध्यमको तुलनामा समाचार समितिले अझ बढी सशक्त र प्रभावकारी भूमिका खेल्न सक्छ भन्ने मान्यता छ । समाचार समितिले जहिले पनि जनउत्तरदायी, निष्पक्ष, सन्तुलित र जिम्मेवार भएर सत्यतथ्य समाचार सूचना आदि जनसमक्ष प्रस्तुत गर्ने भएकाले नै यसप्रति आमजनताको विश्वास, सम्मान र निर्भरता रहेको हो । यसले समाजका सकारात्मक र नकारात्मक पक्षको यथार्थपरक रुपमा उजागर गरी जनसमक्ष ल्याउन सक्छ । राष्ट्रिय महत्व पाउन नसकेका वा ओझेलमा परेका विषय, जुन सार्वजनिक चासोमा पर्छन्, लाई पनि जनसमक्ष ल्याउने मुख्य माध्यम नै समाचार समिति हो । व्यावसायिकताका नाममा जुन सामग्री बढी बिक्छ त्यसैलाई उत्तेजक ढङ्गबाट प्रवाह गर्ने शैलीले सञ्चारजगत् शिकार भएको अहिले समयमा त्यसलाई सही बाटो देखाउने भनेकै समाचार समिति भएकाले यस भूमिकामा राससले आफूलाई सक्षम तुल्याउन सक्नुपर्छ ।

हिजोको रासस
रासस निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर २०१८ फागुन ७ गते स्थापना भएको हो । निजी क्षेत्रबाट २०१६ पुस १ गते स्थापित नेपाल संवाद समिति र २०१७ वैशाख ३० गते स्थापित सगरमाथा संवाद समिति एकापसमा गाभिएर राष्ट्रिय संवाद समिति स्थापना भएको हो । राज्यका निकायहरु निजीकरण भइरहेका सन्दर्भमा निजी क्षेत्रका संस्थाहरु सरकारको मातहात आउनाका पछाडि पक्कै पनि केही महत्वपूर्ण विषय लुकेका हुन सक्छन् । रासस ऐन २०१९ जारी भएपछि यो एउटा अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्था बनेको छ ।

राससले स्वदेश तथा विदेशका महत्वपूर्ण समाचार सङ्कलन तथा सम्पादन गरी देशभरका आफ्ना सेवाग्राही सञ्चारगृहलाई नेपाली र अङ्ग्रेजी भाषामा समाचार उपलब्ध गराइआएको छ । हाल राससका कूल सेवाग्राही सङ्ख्या ३२८ छन् । यसमा ब्रोडसिटका दैनिक अखबार १२, टेलिभिजन तीन, अनलाइन मिडिया २११, मोफसलका दैनिक सेवा प्रदायक सङ्ख्या ७०, साप्ताहिक सेवा प्रदायक संस्था १४, मासिक सेवा प्रदायक संस्था पाँच र एफएम रेडियो १३ छन् । राससको बढी उपस्थिति राजधानीमा भन्दा मोफसलमा बढी रहेको देखिन्छ ।

राससले पछिल्ला केही वर्षदेखि तस्वीर, श्रव्य, आलेख र आर्थिक समाचारसमेत सम्प्रेषण गर्दै आएको छ । आधिकारिक, विश्वसनीय, सन्तुलित र तथ्यपूर्ण समाचार सम्प्रेषण नै राससको मूल मन्त्र हो । जनतालाई सुुसूचित गराउने राज्यको नीतिबमोजिम राससले देशभर सञ्चालित पत्रपत्रिका, एफएम रेडियो, रेडियो, टेलिभिजन र विद्युतीय अनलाइनजस्ता आमसञ्चार माध्यमलाई हरेक दिन साधारणतया बिहान ६ बजेदेखि राति ११ बजेसम्म न्यूजलाइन सफ्टवेयरमार्फत अविच्छिन्न सेवा उपलब्ध गराउँछ । यसका साथै यसले ख्यातिप्राप्त अन्तरराष्ट्रिय समाचार संस्था एपी, एएफपी, सिन्ह्वालगायत सञ्चार संस्थाबाट स्याटेलाइट र इन्टरनेटका माध्यमबाट समाचार र तस्वीर प्राप्त गरी सेवाग्राहीलाई सःशुल्क वितरण गरिआएको छ ।

आजको रासस
राससले समाचार, सूचना र विचारलाई प्रकाशन तथा प्रसारण माध्यमलाई उपलब्ध गर्ने मात्र होइन, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ मजबुत बनाउन पनि अग्रणी भूमिका खेलेको छ । समाजमा पछि परेका समुदायलाई मूल प्रवाहमा ल्याउन उनीहरुका भावनालाई पनि प्राथमिकता दिएको छ । मुलुकका कुनाकन्दारामा दबिएका आवाजविहीनको आवाजको प्रतिनिधित्व गर्नुलाई आफ्नो मुख्य धर्म मान्दै आएको राससले सरकारी काम कारवाहीको त्रुटिकमजोरी औंँल्याउने, पारदर्शी बनाउने र सुशासनलाई बढावा दिंँदै मुलुकको सामाजिक, आर्थिकलगायत सबै पक्षलाई मजबुत बनाउन पनि महत्वपूर्ण योगदान दिएको छ । राससका अधिकांश समाचार सेवाले ती जनताको दैनिक जीविकासँग सरोकार राख्ने जनचासोका विषयलाई उच्च महत्व दिएको हुन्छ । रासस नाफामूलक नभई सेवामूलक ढङ्गबाट सञ्चालन भएकाले यसले जहिले पनि जनचासो र अभिरुचिका कुराहरुलाई महत्व दिँदै आएको छ ।

स्थानीयस्तरका घटना वा विषयवस्तु हुन् वा केन्द्रीयस्तरका राष्ट्रिय महत्व राख्ने विषय हुन् उत्तिकै महत्वका साथ लिने गरिन्छ । यत्ति हो राष्ट्रिय महत्वका विषयले आमजनतालाई छुन सक्छ भने स्थानीयस्तरका विषयले पनि सम्बन्धित वर्ग, समुदाय, क्षेत्रको प्रतिनिधित्व गरेको हुन्छ । सार्वजनिक चासोअन्तर्गत सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार, सुरक्षा आदि पर्छन् । यी विषयसँग सम्बन्धित समाचार वा सूचना समाचार समितिमार्फत जनतामा पुग्ने गर्छ ।

कतिपय सञ्चारमाध्यममा जनचासोका नाममा प्रकाशन, प्रसारण हुने समाचार वा अन्य सामग्रीले समाजमा नराम्रो असर पारेको हुन्छ । धेरै पाठक र दर्शकले रुचाए भन्दैमा त्यस्ता सामग्रीहरु स्वस्थ समाजका लागि अहितकर हुन सक्छन् । कहिलेकाहीँ पत्रकार आचारसंहिता विपरीत समाजमा नैराश्य, घृणा, सन्त्रास र उत्तेजना फैलाउने किसिमका सामग्री सम्प्रेषण गरिंँदा समाजमा उत्तेजना भड्किन जान्छ । समाजलाई सत्यतथ्य समाचार सम्प्रेषण गरी सुसूचित गराउन मुलुकभरका छापा र विद्युतीय सञ्चारमाध्यमलाई मूल प्रवाहमा हिँडाउनुपर्ने समाचार समितिको दायित्वलाई राससले कहिल्यै बिर्सेको छैन ।

नेपाली भाषा र व्याकरणको मानकका रुपमा विगतमा राससले आर्जन गरेको विश्वास पछिल्लो समय भाषाशास्त्री र व्याकरणविद्मै देखिएको मतभेद र फरक शैलीका कारण केही अन्योल देखिए पनि विस्तारै त्यसलाई न्यूनीकरण गरिँदै लगिएको छ । कहिलेकाहीँ मानवीय र प्राविधिक त्रुटिलाई लिएर नकारात्मक टिप्पणी गर्नुभन्दा समयमै त्यसलाई सच्याउने र सच्चिने अवसर दिनु सबैको कर्तव्य हुन आउँछ । विश्वका ठूला सञ्चार संस्थाले गर्ने त्यस्ता त्रुटिलाई कसैले उछाल्ने गरेको पाइँदैन, बरु सच्याउनका लागि अवसर दिने गरिन्छ । नकारात्मक प्रचारले कुनै सञ्चारकर्मी वा सञ्चार संस्थाको नभएर समग्र पत्रकारिता र मुलुकको प्रतिष्ठामा नै आँच पु¥याउँछ ।

सीमित साधन स्रोत भए पनि राससले मुलुकका राष्ट्रिय महत्व राख्ने, ठूला विपद् र जनचासोका समाचारलाई याथाशक्य छिटो सन्तुलित ढङ्गबाट सम्प्रेषण गरिआएको छ । कुनै महत्वपूर्ण समाचारलाई तत्काल सङ्क्षेपमा दिएर पछि त्यसको विस्तृत रुपमा समाचार सामग्री दिँदै आएको छ । राससले अन्य सञ्चारमाध्यमका तुलनामा सार्वजनिक चासोका विषयलाई बढी नै महत्व दिने गर्छ । त्यस्ता विषयको समाचार सम्प्रेषण गर्दा संवेदनशील र जिम्मेवार हुनुपर्ने हुन्छ । कतिपय सञ्चारविद्ले समाचार समितिको समाचारलाई घरमै बनाएको खानाका रुपमा र अन्य सञ्चारमाध्यमको प्रस्तुतिलाई बजारमा पाइने ‘फास्टफुड’का रुपमा पनि तुलना गर्ने गरेको पाइन्छ ।
नेपाली मिडियामा सानो कुरालाई पनि अतिरञ्जित गर्ने र गलत रुपमा प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको छ । त्यसैले विनापूर्वाग्रह तथ्यपरक समाचार सम्प्रेषणमार्फत राससले यो स्थिति अन्त्य गरी नेपाली पत्रकारितालाई निष्पक्ष, तटस्थ, मर्यादित र सकारात्मक बाटामा हिंँडाउन मार्गदर्शकको भूमिका खेल्न सक्छ । राष्ट्रियताको दृष्टिले मुलुकमा निरन्तर बाह्य दवाव र हस्तक्षेप बढिरहेका अवस्थामा राससले सम्पूर्ण आमसञ्चारका माध्यमलाई राष्ट्रिय हित, एकता, सहिष्णुता र सामाजिक ढुकढुकी बनाउन जरुरी छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको अवस्थामा हरेक जातजाति, वर्ग समुदाय, क्षेत्र, संस्कृति, संस्कार, रीतिरिवाज र आकाङ्क्षाको साझा अभिव्यक्ति बन्न सक्ने अवसर पनि राससका सामु छ । यसले राससलाई आमजनतासामु पुग्न र जनताको आस्था र विश्वास आर्जन गर्न सहयोग पुग्छ ।

भोलिको रासस
राससलाई अहिलेकै रुपमा अगाडि बढाउन सकिंँदैन, स्पष्ट दिशाबोधका साथ दीर्घकालीन योजना तर्जुमा गरी अगाडि बढ्नु जरुरी छ । यससम्बन्धमा राससले दीर्घकालीन अवधारणा पनि बनाएको छ । राससको अहिलेको मुख्य समस्या भनेको समाचारको अनधिकृत प्रयोग वा चोरी नै हो । देशभरका कतिपय मिडियामा राससका समाचार प्रयोग भएको पाइन्छ तर तीमध्ये कमै मात्र यसको ग्राहक छन् । चोरढोकाबाट सेवा प्रयोग गर्नुभन्दा सबै मिडियाले ग्राहक बनेर सेवा लिने हो भने राससको आर्थिक अवस्था सुदृढ हुनेछ । नेपालमा अझै व्यावसायिक पत्रकारिताको विकास भइनसकेका कारण राससको समाचारलाई हुबहु प्रयोग गरी स्रोत उल्लेख नगर्ने परिपाटिले पनि रासस र पाठकबीचको सम्बन्धमा बादल लगाउने काम भएको छ ।

समाचार समिति पत्रकारिता त्यति सजिलो हुँदैन । पर्दा पछाडिको कलाकारिताजस्तै समाचार समितिका पत्रकारको भूमिका अग्रणी तर ओझेलमा रहेको हुन्छ । अन्य सञ्चारमाध्यममा काम गर्ने पत्रकार र उनीहरुले लेखेका वा बोलेका सामग्री पाठकले प्रत्यक्ष देख्छन् तर समाचार समितिले समाचार स्रोतका रुपमा काम गर्ने भए पनि यसले गर्ने पत्रकारिता पर्दा पछाडि रहेकाले उनीहरुको मनोबल बढाउन सकिएको छैन । विश्वका कतिपय समाचार समितिले आफैंँले पनि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, वेबसाइट, ग्राफिक्स, सूचना तथ्याङ्क बैंक, अनुसन्धान केन्द्र आदिको स्थापना गरी सेवालाई विविधीकरण गरे पनि राससले अहिलेसम्म आफ्नो छुट्टै सञ्चार ‘आउटलेट’ सञ्चालन गर्न सकेको छैन । मुलुक सङ्घीय संरचनामा प्रवेश गरेसँगै राससले पनि आफूलाई सोहीअनुरुप संरचनात्मक व्यवस्था गर्न सकेको छ । सात वटै प्रदेशमा प्रदेश कार्यालय स्थापना भएका छन् । आगामी दिनमा ती सबै प्रदेशबाट समाचार सेवा सञ्चालन गराउन राससको व्यवस्थापनले ध्यान दिएको पाइन्छ ।

राससले आफ्ना ग्राहकलाई हाल समाचार, आलेख, तस्वीर र श्रव्य सामग्री उपलब्ध गराउँदै आएको छ । झण्डै डेढ सयको सङ्ख्यामा टेलिभिजन र केवल टेलिभिजन दर्ता भई सयको हाराहारीमा सञ्चालनमा रहेको अवस्थामा राससले आगामी दिनमा ‘भिजुअल’ सेवा पनि शुरु गर्ने तयारी गरेको छ, चीन र भारतमा स्थायी प्रतिनिधि राख्ने योजना छ । अहिले पनि विश्वका विभिन्न देश, जहाँ नेपालीको घनत्व बढी छ, मा अस्थायी प्रतिनिधि राखेर नेपाल र नेपालीसँग सम्बन्धित समाचारलाई सम्पेषण गर्दै आएको छ ।

हिजो आमसञ्चारका माध्यम सीमित रहेका बेला रासस समाचारको मुख्य स्रोत नै बनेको थियो तर आज सूचना प्रविधिमा आएको द्रुत विकास र मिडियामा निजी क्षेत्रको ठूलो लगानी हुन थालेपछि कतिपय मिडियाका लागि राससको आवश्यकता कम भएको हुन सक्छ । मुलुककै तेस्रो पुरानो सञ्चार संस्था मात्र नभई रासस देशविदेशका समाचार तथा तस्वीरको समेत प्रमुख भण्डार रहेको छ । यसलाई राष्ट्रकै सूचना भण्डारका रुपमा विस्तार गर्न सकिएमा राज्यलाई नै ठूलो फाइदा पुग्नेछ । राससलाई बदलिँदो परिस्थितिअनुकूल बनाई जनता र राष्ट्रप्रति अझ बढी उत्तरदायी, अग्रगामी एवं जिम्मेवारपूर्ण बनाउन कानूनी संरचनामा उल्लेख्य परिवर्तन गर्न आवश्यक छ ।

सम्बन्धित

खैरहनीबाट १ लाख ७८ हजार नगदसहित ७ जुवाडे पक्राउ 

७ घन्टा अगाडि सूर्यप्रसाद अधिकारी