तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकको तातोपानीमा चित्रकला प्रशिक्षण

काठमाण्डाैं।सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिकाको आयोजनामा गत माघ २८ देखि फागुन ५ गतेसम्म तातोपानीस्थित तातोपानी आधारभूत विद्यालयमा गाउँपालिकाका १० विद्यालयका विद्यार्थीले कला प्रशिक्षण लिएका छन् । विशेषज्ञ चित्र–कलाकार डा रामकुमार भौकाजीबाट दिइएको सो प्रशिक्षणमा ३३ विद्यार्थी सहभागी थिए ।

आवासीय रुपमा दिइएको प्रशिक्षणमा चित्रकला सिर्जनासम्बन्धी अत्याधुनिक शिक्षण प्रणालीअनुसार चित्रकलाको आधारभूत, सैद्धान्तिक तथा व्यावहारिक शिक्षा दिइएको थियो । चित्रकलासम्बन्धी यस्तो प्रशिक्षण सिन्धुपाल्चोकमा पहिलो पटक भएको बताइएको छ । नेपालको चित्रकला शिक्षामा ऐतिहासिक महत्व राख्ने सो कार्यक्रमको मूल उद्देश्य भोटेकोशी क्षेत्रको प्राकृतिक दृश्य, नेपाल र नेपालीको पहिचान दिने सम्पदा, विविध संस्कृति र संस्कार तथा सामान्य जीवनलाई चित्राङ्कित गरेर विश्वसामु प्रकाशमा ल्याउनु रहेको डा भौकाजीले जानकारी दिनुभयो ।

प्रशिक्षण समापन समारोहमा गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले एकहप्ते चित्रकला प्रशिक्षण अवधिमा बालबालिकाबाट सिर्जना गरिएका चित्रकलामा परिवर्तन आएको आफूले पाएको बताउनुभयो । आफ्नो गाउँपालिकाले भविष्यमा बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न यस्तै प्रभावकारी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि उहाँले दिनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष बादुकी शेर्पा लामाले बालबालिकामा निहित गुणको पहिचान गर्न गाउँपालिकाले ध्यान दिएको बताउनुभयो । प्रशिक्षक डा भौकाजीले गाउँपालिकाले बालबालिकाको सिर्जनात्मक विकासका लागि देखाएको तत्परता सकारात्मक रहेको बताउँदै नेपालका गाउँपालिकामध्ये भोटेकोशी नै बालबालिकालाई चित्रकला सिकाउने पहिलो गाउँपालिका भएको जिकिर गर्नुभयो । प्रशिक्षणका लागि तातोपानी आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण नेपाल, तातोपानी शैक्षिक सुधार समितिका अध्यक्ष चेङ्गा शेर्पा, गाउँपालिका वडा नं २ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, रेडक्रस तातोपानीका अध्यक्ष विष्णु श्रेष्ठलगायतले संयोजन गर्नुभएको थियो ।

बालबालिकाले दुगुनागढी, देउराली र लिस्तिकोटमा स्थलगत रुपमा सिर्जना गरेका १८० चित्रकलामध्ये ८० चित्र पनि प्रदर्शनी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button