२०७८ साल वैशाख २४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

राससलाई समाचार बैंकका रूपमा स्थापित गर्नुपर्छ:मन्त्री गुरुङ

रेडियो नेपाल २०७६ फागुन ७ गते १६:१४

काठमाडौँ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले लामो इतिहास बोकेको राष्ट्रिय समाचार समिति (रासस) लाई समाचार बैंकका रूपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ ।

राससको ५९ औँ वार्षिकोत्सवको अवसरमा आज रासस परिसरमा आयोजित समारोहमा उहाँले राज्यको समाचार संस्थाका रूपमा रहेको स्थापित राससले आफूलाई प्रभावकारी र गुणस्तरीय बनाएर समाचार बैंकका रुपमा स्थापित गर्न सक्नुपर्ने बताउनुभयो ।

“सरकारी सञ्चारमाध्यम मौलाउने र सरकारी संस्था कमजोर बन्दै जानु आजको चुनौती हो, राससलगायत सरकारी सञ्चारमाध्यमलाई कसरी बलियो बनाउने हो, त्यसतर्फ ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो ।

राससले परिवर्तनअनुरुप आफूलाई परिष्कृत र समयानुकूल बनाउँदै लैजानुपर्छ भन्दै उहाँले समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय दृष्टिकोणलाई सार्थक तुल्याउन राज्यको समाचार समितिको हिसाबले आफूलाई परिवर्तित र रूपान्तरित गराउनसक्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले स्रोत साधन र उपकरणले मात्र संस्थाको प्रगति नहुने भन्दै कर्मचारीको वृत्तिविकासका लागि पनि ध्यान दिन जरुरी भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले राससलाई बदलिँदो परिस्थितिअनुरुप प्रतिस्पर्धी बनाउन र गुणस्तरीय सेवा दिन सोहीअनुरुपको रणनीतिक सुधार जरुरी भएको उल्लेख गर्नुभयो ।

प्रविधि र स्रोत साधनले मात्र हैन, कर्मचारीको मनोबल उच्च बनाउन सकेमात्रै संस्थागत उन्नति हुने उल्लेख गर्दै सचिव सुवेदीले राससको समय सान्दर्भिक भूमिका र दायरालाई अझ प्रभावकारी बनाइनुपर्ने खाँचोसमेत औँल्याउनुभयो ।

राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले राज्यको समाचार संस्था राससलाई बदलिँदो परिस्थिति र परिवेशअनुरुप प्रतिस्पर्धी र व्यावसायिक बनाउन व्यवस्थापन र कर्मचारी दुवैको मनोबल बलियो बनाइनुपर्ने बताउनुभयो ।

उहाँले राससको समस्या केवल व्यवस्थापन र कर्मचारीसँग मात्र जोडिएको नभई समग्र राज्य संयन्त्रको पनि समस्या हो भन्दै व्यवस्थापनलाई मात्रै दोष दिएर निष्कर्षमा पुग्न नसकिने धारणा राख्नुभयो ।

उहाँले राससको नीतिगत तथा संरचनागत सुधार गरी सेवालाई गुणस्तरीय बनाउनेतर्फ व्यवस्थापन पूर्ण क्षमताका साथ लागेको उल्लेख गर्दै रासससँग जोडिएका सम्पूर्ण जनशक्तिले आफ्नो पूर्ण क्षमता र व्यावसायिक इमान्दारीलाई प्रदर्शन गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “व्यावसायिक र जिम्मेवार पत्रकारिता राज्य र जनताको पक्षमा गरिने पत्रकारिता भएकाले राससलाई समयानुकूल परिवर्तन गर्दै सेवामैत्री र प्रविधियुक्त बनाउन जरुरी छ, म सबैलाई व्यावसायिक क्षमता प्रदर्शन गर्न अनुरोध पनि गर्दछु ।”

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले समाचारको बैंक तथा मुहानका रूपमा स्थापित राससको सेवालाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो ।

सीमित स्रोत र साधनका बाबजुद राससले आफ्नो सेवा प्रवाहमा कुनै कञ्जुस्याइँ नगरेको भन्दै महाप्रबन्धक शर्माले मुलुकको सङ्घीय शासन व्यवस्थानुरूप राससको स्वरूपलाई परिवर्तन गरी समयानुकूल सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाइने उल्लेख गर्नुभयो ।

महाप्रवन्धक शर्माले राससको सेवालाई प्रभावकारी तुल्याउन जनशक्ति विकास, संस्थागत क्षमता अभिवृद्धि, कर्मचारीको वृत्तिविकासलगायत कामलाई प्राथमिकता दिइएको उल्लेख गर्दै छिमेकी मुलुक भारत र चीनका साथै नेपालीको बाहुल्य भएका विश्वका कतिपय मुलुकमा समेत वैतनिक प्रतिनिधि राख्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरेले सङ्घीय संरचनानुरुप राससको सेवा विस्तार गर्दै सेवालाई चुस्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

रासस कर्मचारी सङ्घका अध्यक्ष मनोज लामिछानेले लामो समयदेखि अवरुद्ध राससका कर्मचारीको वृत्तिविकासको कामलाई चाँडो सम्बोधन गर्न माग गर्नुभयो ।

एकीकृत राष्ट्रिय कर्मचारी सङ्गठनका संयोजक प्रेमप्रसाद उपाध्यायले कर्मचारीको दरबन्दी पारदर्शी हुनुपर्ने तथा कर्मचारीको वृत्तिविकास र सेवा प्रवाहसँग जोडिएको विनियमावली चाँडो ल्याएर तदनुरूप काम अघि बढाउनुपर्ने माग गर्नुभयो ।

निजी क्षेत्रका दुई संस्था नेपाल संवाद समिति (विसं २०१६ पुस १ गते) र सगरमाथा संवाद समिति (विसं २०१७ वैशाख ३० गते) एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते राससको स्थापना भएको थियो ।

रासस ऐन, २०१९ जारी भएपछि यो एउटा अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्था बनेको छ । राससले स्वदेश तथा विदेशका महत्वपूर्ण समाचार सङ्कलन तथा सम्पादन गरी देशभरका आफ्ना सेवाग्राही सञ्चारगृहलाई नेपाली र अङ्ग्रेजी भाषामा समाचार उपलब्ध गराउँदै आएको छ । केन्द्रीय कार्यालयसहित सातवटै प्रदेशमा कार्यालय रहेको राससमा अनुभवी पत्रकार र कर्मचारीसहित हाल जम्मा १६७ कर्मचारी दरबन्दीसहित थप १५० स्थायनीय समाचारदाता (स्ट्रिङ्गर) क्रियाशील छन् ।

मुलुक सङघीय संरचनामा प्रवेश गरेसँगै सातवटै प्रदेशबाट समाचार बुलेटिन प्रकाशन गर्ने योजना रहेको छ । सेवा विविधिकरणका क्रममा यसै वर्षदेखि भिडियो सेवा सञ्चालन गर्न र व्यावसायिक स्टुडियोको व्यवस्थासहित अडियो सेवालाई थप सुदृढ गरिने योजना रहेको छ ।

अघिल्लो वर्ष करिब एक लाख आठ हजार समाचार सामग्री सम्प्रेषण गरेको राससले यस वर्ष एक लाख १२ हजार समाचार सामग्री सम्प्रेषण गरी मुलुकको सूचना र समाचारको क्षेत्रमा एजेण्डा सेटरको रुपमा प्रस्तुत भई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र यो देशवासीको आशा र भरोसाको केन्द्रका रुपमा रासस स्थापित हुन सफल भएको बताइएको छ ।

सम्बन्धित

मुख्यमन्त्री भट्टलाई मातृशोक

९ घन्टा अगाडि रेडियो नेपाल