तपाईँ सुन्दै हुनुहुन्छः

बंगलादेशको भ्रमण निकै सफल रहेको परराष्ट्रमन्त्रीको भनाई

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बंगलादेशको आफ्रनो तीन दिने भ्रमण निकै सफल रहेको भन्दै बंगलादेश सरकारसँग जलविधुतलगायत उर्जा स्रोतको बिकास एवं व्यापार गर्ने बिषयमा सहमति गरिएको बताउनुभएको छ ।

बंगलादेशका परराष्ट्रमन्त्री डा.ए.के. अब्दुल मोमेनको मैत्रीपूर्ण निमन्त्रणामा बंगलादेशको तीन दिने भ्रमण पूरा गरी आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा नेपालबाट बंगलादेशमा निर्यात प्रवर्धन तथा दुबै मुलुकबीच कनेक्टिीभिटी बृद्धि गर्नेलगायतका बिषयमा छलफल भएको बताउनुभयो ।

यसैगरी दुई देशबीचको व्यापारको प्रवर्धन र व्यापारलाई सन्तुलित बनाउने र त्यसकालागि दुई मुलुकबीच रहेका ब्यापारका थप सम्भावनाहरुको खोजी गर्ने अवरोधहरु हटाउने र निर्यात योग्य बस्तुहरुको उत्पादन बृद्धि गर्ने बिषयमा सहमति भएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा आफुले नेपाल भ्रमण बर्ष २०२० मा बंगलादेशबाट नेपालमा बढी भन्दा बढी संख्यामा पर्यटकहरुको आगमनकालागि त्यहाँको सरकार र जनतालाई आग्रह गर्नुसँगै नेपालमा लगानी गर्नसमेत आग्रह गरेको बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले बंगलादेशमा रहँदा आफूले त्यहाँका परराष्ट्र र बाणिज्य मन्त्रीसँगै बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमीद र प्रधानमन्त्री शेष हसिनासँग भेटवार्ता गरेको र उहाँहरुसँग नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुुदृढ बनाउँदै जाने बिषयमा कुराकानी भएको बताउनुभयो ।

त्यसक्रममा नेपाल सरकारले आगामी अप्रिलमा काठमाडँैंमा आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा बंगलादेशबाट उच्च तहको सहभागिताका लागि त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग आग्रह गरेको पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

नेपाली नागरिक भारत स्थलगत मार्गबाट गए पनि हवाई मार्गबाट फर्किन पाउने परराष्ट्रमन्त्रीद्वारा प्रष्ट
सञ्चारकर्मीको एक जिज्ञासमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाली नागरिक नेपालबाट भारत स्थलगत मार्गबाट गए फर्किदा हवाई मार्गबाट फर्किन नपाउने चलेको हल्लाका सम्बन्धमा भारतबाट नेपालको ईमिग्रेसनको छाप बिना भारतबाट अन्य देश जाँन नपाईने तर नेपाल भने आउँन पाईने स्पष्ट पार्नुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले चेलीबेटी बेचबिखन र मानव ओसार पसारका घटना हुन नदिन यस्तो किसिमको व्यवस्था गरिएको र यसबाट दुई देशबीच आवागमनमा कुनै अप्ठेरो नपर्ने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button