तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय पाठ्यक्रम लागू गर्दै महालक्ष्मी नगरपालिका

ललितपुर। नैतिक शिक्षामा बढवा दिन महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विस २०७७ बाट नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको पाठ्यक्रम लागू गर्ने जनाएको छ ।

कक्षा एकदेखि आठसम्म लागू हुने जनाइएको छ । एक सय पूर्णाङ्कको सो पाठ्यक्रम वर्षमा चार क्रेडिट आवर पढाउने तयारी अघि बढाइएको नगरपालिकाका प्रमुख शिक्षा अधिकृत रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस पुस्तकको नाम नै स्थानीय पाठ्यक्रम रहने छ । नगरपालिकाको ऐतिहासिक परिचयदेखि पूर्वीय दर्शन र मूल्य मान्यताका बारेका सम्पूर्ण कुरा समेटेका छौँ ।” नगरपालिकाम ४२ संस्थागत र १५ सामुदायिक गरी ५७ वटै विद्यालय रहेका छन् । ती विद्यालयमा एकै साथ सो पाठ्यक्रम लागू गरिने तयारी भइसकेको नगरपालिकाले जनाएको छ ।

विद्यालयका शिक्षक, समाजसेवी, जनप्रतिनिधि बीचमा छलफल, सहमति र रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई तिक्ष्ण बनाउन अङ्ग्रेजी माध्यमलाई विशेष जोड दिँदै आएको छ ।

नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयबीचको शिक्षा सुधारको लागि बेलाबेलामा साझेदारी कार्यक्रम पनि हुने गर्छ । यस किसिमको साझेदारी कार्यक्रमले शिक्षक शिक्षकबीच ज्ञान र प्रविधिको आदनप्रदान भई सकारात्मक प्रतिस्पर्धा सिर्जना बढाएको नगरपालिका उपप्रमुख निर्मला थापाले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button