तपाईँ सुन्दै हुनुहुन्छः

भीमेश्वरको शीलामा दुई घण्टा पसिना

दोलखा। प्रसिद्ध दोलखा भीमेश्वरको शीलामा विहिवार विहान दुई घण्टा पसिना आएको छ । विहिवार विहान ६ः१५ मा शीलाको दाहीने पट्टीबाट पसीना आउन सुरु भएको र केहि समयमै शीलाको सबैतिर पसिना आएको भीमेश्वर गुठी तथा मन्दिर पुजा व्यवस्थान समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।

शीलामा पसिना आउने क्रम विहान ८ः२५ बजेसम्म रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । शीलामा पसिना आएपछि ठूलो संख्यामा स्थानिय भक्तजनहरु भेला भएका थिए । उनीहरुले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शीलाको पसिना कपासले पुछेका थिए ।

भीमेश्वरको शीलामा दायाँ पट्टी पसिना आउदा राष्ट्रप्रमुलाई असर गर्ने र बाँया पट्टी पसिना आउदा जनतालाई असर गर्ने जनविश्वास रहदै आएको छ । शीलामा पसिना आउदा शुभ या अशुभ दुबै खाले प्रभाव पर्न सक्ने स्थानिय जेष्ठ नागरिकहरुको भनाई छ । शीलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकांक्षा पुरा हुने जनविश्वास समेत रहेको छ ।

शीलामा पसिना आएपछि स्थानिय समितिले क्षमा पुजा गरेको र शुक्रवार पसिना पुछेको कपास राष्ट्रप्रमुखकोमा पठाउने तयारी गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताउनु भयो । शीलाको पसिना पुछेको कपास राष्ट्र प्रमुख कहाँ पठाउने र राष्ट्रप्रमुखबाट क्षमा पुजा गर्ने परम्परा रहदै आएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शीलामा अहिलेसम्म १७ पटक पसिना आईसकेको स्थानियको भनाई छ । पछिल्लो पटक २०७४ असोज १० गते भीमेश्वरको शीलामा दुई पटक पसिना आएको समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो । भीमेश्वरको शीलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१ मा पनि भीमेश्वरको शीलामा पसिना आएको स्थानिय जेष्ठ सदस्यहरुले बताए ।

विहिवार शीलामा पसिना आएपछि झण्डै तीन हजार भन्दा बढीले भीमेश्वरको दर्शन गरेको स्थानिय भरतनारायण प्रधानले बताउनु भयो । बेलुका अबेरसम्म पनि भीमेश्वरको मन्दिरमा दर्शन गर्नेहरको भीड लागेको प्रधानले बताउनु भयो ।

तस्विरः प्रसिद्ध भीमेश्वरको शीला र पसिना आएपछि मन्दिर परिसरमा भक्तजनहरु

प्रतिक्रिया राख्नुहोस्

Back to top button