तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा सामरिक लेखको सङ्गालो युनिटी जर्नल प्रकाशन

काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षामा सबै तह र तप्काको सहभागिता र भूमिका उतिकै महत्वपूर्ण रहने बताउनु भएको छ ।

नेपाली सेनाद्वारा प्रकाशित सामरिक लेखको सङ्गालो युनिटी जर्नलको आज जङ्गी अड्डामा विमोचन गर्नुहुँदै मन्त्री पोखरेलले सरकार, सेना र जनताको एकीकृत प्रयासबाट मात्र राष्ट्रको समग्र सुरक्षा सम्भव हुने बताउनुभयो ।

नेपालको भू–राजनीतिक र भू–रणनीतिक पक्षको अध्ययनको आवश्यकता धेरै अघिदेखि महसुस गरिएको बताउँदै रक्षामन्त्री पोखरेले ‘राष्ट्रिय सुरक्षाको निरन्तर अध्ययन, अनुसन्धान तथा विश्लेषण आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पोखरेलले सरकारले राष्ट्रिय सुरक्षाको विषयलाई बोध गरेर राष्ट्रिय सुरक्षा विश्वविद्यालय स्थापनाको कार्य अघि बढाएको उल्लेख गर्नुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालको संविधानले सेनालाई एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी दिएको बताउँदै राष्ट्रिय एकताबिना राष्ट्रिय सुरक्षाको परिकल्पना गर्न नसकिने बताउनुभयो ।

प्रधानसेनापति थापाले राष्ट्रिय एकता भएको मुलुकलाई कुनै पनि शक्तिले कमजोर र परास्त गर्न नसक्ने बताउनुभयो ।

युनिटी जर्नलमा प्रकाशित लेखमध्ये मानवशास्त्री विहारीकृष्ण श्रेष्ठको लेख प्रथम, पशुपति नेपालको लेख द्वितीय र गेजा शर्मा वाग्लेको लेख तृतीय भएकोछ ।

कार्यक्रममा मन्त्री पोखरेलले प्रथम हुनेलाई २ लाख, द्वितीय हुनेलाई एक लाख र तृतीय हुनेलाई ५० हजार नगद र प्रशंसापत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button