तपाईँ सुन्दै हुनुहुन्छः

ठाडोभाका सर्जक दुराको स्मृतिमा सङ्ग्रहालय

लमजुङ-जीवन्त ठाडोभाका गीतका पुराना सर्जक देउबहादुर दुराको स्मृतिमा उहाँकै जन्मगाउँमा सङ्ग्रहालय निर्माण भएको छ । देउबहादुर दुरा स्मृति प्रतिष्ठान हाँडीखोला लमजुङले मध्यनेपाल नगरपालिका–१० हाँडीखोलाको नास्के–वर्धन गाउँमा सो स्मृति सङ्ग्रहालय बनाएको हो । नवनिर्मित सङ्ग्रहालयको बिहीबार नगरप्रमुख रमेशकुमार पाण्डेले शुभारम्भ गर्दै दुराले ठाडोभाकाका माध्यमले सिङ्गो लमजुङलाई चिनाएको बताउनुभयो ।

ठाडोभाका संरक्षण समितिका संरक्षक बुद्धिमान दुरा धम्पुले नेपाली गीत–सङ्गीत क्षेत्रलाई ठूलो गुन लगाएको बताउँदै नवपुस्तालाई उनको बारेमा चिनाउने आधार निर्माण गर्नुपर्ने बताउनुभयो । दुराका सहपाठी करापुका पञ्चै सुब्बा गुरुङ, नाचमा साथ दिने भैरे रानाभाटलगायत सर्जकलाई पनि भुल्न नहुनेमा उहाँले जोड दिनुभयो ।

वडाध्यक्ष रामचन्द्र भण्डारीले हाँडीखोलालाई नमूना गाउँका रुपमा चिनाइने र लोकसंस्कृतिको अनुपम गन्तव्यका रुपमा विकास गरिने बताउनुभयो । कार्यक्रममा घाँटु र कृष्णचरित्र नृत्य पनि प्रस्तुत गरिएको थियो । विसं १९४७ फागुन ८ गते जन्मिएका देउबहादुर दुराले आफ्नो जीवनकालमा करापुटारको शिवरात्रि मेलालगायत चाडपर्वमा ठाडोभाका गीत गाएरै मनोरञ्जन गराएको स्मृति सङ्ग्रहालयका अध्यक्ष पूर्णबहादुर दुराले जानकारी दिनुभयो ।

हट्टाकट्टा र बलियो शरीर भएका देउबहादुर निकै रसिक स्वभावका भएकाले ठाडोभाका गीत गाएर श्रोतालाई मनोरञ्जन गराउने अग्रजले बताएको अध्यक्ष दुराले बताउनुभयो । करिब ४८ वर्षका उमेरमा विसं १९९५ फागुनमा देउबहादुरको मृत्यु भएको बताइएको छ ।

नगरपालिकाबाट कूल रु १८ लाख सहयोग र करिब रु १० लाख बराबरको जनश्रमदानबाट एक रोपनी क्षेत्रफलमा सङ्ग्रहालय निर्माण गरिएको हो । परम्परागत घुमाउने स्वरुपमा खरको छानो छाइएको उक्त सङ्ग्रहालयमा देउबहादुर दुरा, ठाडोभाका गीत र दुरा जातिसँग सम्बन्धित सामग्री सङ्ग्रह गरिने भएको छ ।

हालसम्म देउबहादुरको योगदानको खोजी गर्न नसकिएकामा सङ्ग्रहालयकै माध्यमबाट उनका विषयमा थप जानकारी सङ्कलन गरी सर्वसाधारणलाई जानकारी गराइने उक्त प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार सङ्ग्रहालय निर्माणका लागि स्थानीयवासी चन्द्रमान, भीमबहादुर, हस्तबहादुर र दलबहादुर दुराले जग्गादान गर्नुभएको थियो ।

हाँडीखोला क्षेत्रका नास्के, वर्धन, सिम्ले, डाँडागाउँ, गैरीगाउँ, एक्लेवर्धन, कोक्रा गाउँबाट स्थानीयवासीको सहभागिता थियो । सो क्षेत्रमा करिब १६५ घरधुरी रहेकामा अधिकांश दुरा जातिको बसोबास रहेको स्थानीय अगुवा डिलबहादुर दुराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button