२०७८ साल वैशाख २८ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

गोठमै आउँछन् दूध किन्ने ग्राहक

रेडियो नेपाल २०७६ फागुन ९ गते १४:५८

बागलुङ। सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो दूध भाडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् ।

बाँकी दूध शर्माले बजारका घरघर पु¥याउनुहुन्छ । कतिले दैनिक त केहीले मासिक पैसा दिन्छन् । बागलुङ नगरपालिका–२ का शर्मा विसं २०६७ देखि दुग्ध व्यवसायमा हुनुहुन्छ । घर नजिकै हाडेपाखामा उहाँको ‘शिवशक्ति गाईभैँसी दुग्ध उत्पादन फार्म’ छ । फार्ममा अहिले पाँच भैँसी र तीन गाई छन् । गाई उन्नत जातका हुन् भने भैँसी स्थानीय जातका हुन् ।

गाई भैँसीले दैनिक ९० लिटरसम्म दूध दिन्छन् । “एक लिटर दूधको मूल्य रु १०० छ”, ५५ वर्षीय शर्माले भन्नुभयो, “मासिक रु ५० हजार जति खर्च छ, यस्तै ४० हजार जति बचाउँछु ।” घाँस र दानामा बढी खर्च छ । पशुपालनका लागि उहाँले करिब छ रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिनुभएको छ ।

गाईभैँसीसँगै व्यावसायिक तरकारी खेती पनि छ । तरकारीबाट पनि राम्रै आम्दानी छ । ‘टनेल’ लगाएर गोलभेँडा खेती गर्ने योजना शर्माको छ । शर्मा २७ वर्ष कृषि विकास बैंकमा जागिर गरेर निस्केपछि पशुपालन र कृषितिर लाग्नुभएको हो । “जागिरपछि यत्तिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचले यता लागेँ”, उहाँले भन्नुभयो, “अहिले राम्रै भएको छ, मेहनतको फल पाएजस्तो लाग्छ ।” उहाँले शुरुमा रु पाँच लाख लगानी गरेर ‘फार्म’ खोल्नुभएको थियो । अहिले ‘फार्म’को लगानी बढेर झण्डै रु १५ लाख पुगेको शर्माको भनाइ छ ।

पहिलेको तुलनामा पशुको सङ्ख्या पनि बढेको छ । शर्मासहित परिवारका सदस्य मिलेर पशुपालन र कृषिलाई अगाडि बढाएका छन् । श्रीमती गीताकुमारी, छोरा गणेश, बुहारी उषालगायतले शर्मालाई काममा सघाउनुहुन्छ । “सकुञ्जेल खाली किन बस्ने भनेर यो उमेरमा पनि कृषिमा लागेका छौँ”, गीताकुमारीले भन्नुभयो ।

छोरा गणेश पनि अमेरिकाको सपना त्यागेर परिवारसँगै बसेर व्यवसायतिर लाग्नुभएको छ । उहाँको बागलुङ बजारमै पेय पदार्थको ‘होलसेल’ पसल छ । अमेरिकाको सपनाले रु ३५ लाख डुबाएको गणेशले बताउनुभयो । उहाँले अमेरिका नपुगी बीचबाटै फर्कनुभएको थियो ।

“पशुपालन र कृषिमा अझै लगानी थप्ने र व्यवस्थित गराउने सोचमा छौँ”, गणेशले भन्नुभयो, “सरकारी निकायबाट अनुदान पाउन सके हामीलाई राहत हुने थियो ।” विसं २०६९ मा तत्कालीन पशु सेवा कार्यालयबाट गोठ सुधारका लागि पाएको रु ५० हजारबाहेक अहिलेसम्म कुनै अनुदान नल्याएको शर्माको भनाइ छ ।

“अनुदान, प्राविधिक सहयोग पाउन पाए अझ कस्सिएर लाग्न सकिन्थ्यो होला”, शर्माले दुखेसो पोख्दै भन्नुभयो, “कृषिको अनुदान काम गर्ने किसानलाई भन्दा नगर्नेलाई जान्छ ।” उहाँले अनुदानका लागि स्थानीय तहले प्रदेशमा र प्रदेशले सङ्घलाई देखाउने गरेको नमिठो अनुभव सुनाउनुभयो । शर्मा योग्य किसान भएर पनि अनुदान पाउनबाट बञ्चित हुनुपरेको अगुवा किसान बैकुण्ठ सापकोटाले बताउनुभयो ।

सम्बन्धित

कृषि अनुदान रकममा वृद्धि गरिने

७ घन्टा अगाडि रेडियो नेपाल