तपाईँ सुन्दै हुनुहुन्छः

कफी उत्पादनमा ह्रास हुने

मौसममा भएको परिर्वतनले यस वर्ष गण्डकी प्रदेशमा कफी उत्पादनमा ह्रास हुने भएको छ ।

राष्ट्रिय उत्पादनमा गण्डकीबाट २८ प्रतिशत योगदान दिने नगदेबाली कफीको उत्पादन ४० प्रतिशतले घट्ने अनुमान गरेको राष्ट्रिय कफी विकास बोर्डले जनाएको छ ।

बोर्डका अनुसार नौ लाख किलो फ्रेस चेरीमध्ये यस वर्ष पाँच लाख ४० हजार किलोभन्दा कम उत्पादन हुने प्रक्षेपण गरिएको छ ।

गण्डकीका मनाङ र मुस्ताङ बाहेकका नौ जिल्लामा अहिले कफी खेती हुँदै आएको छ । पुस, माघ र फागुन महिना कफी उत्पादनका लागि मुख्य सिजन हो । यो समय कफीका दाना पाक्ने र टिप्ने समय पनि हो ।

तर, पछिल्ला दुई सातायता टिप्न ठिक्क परेका दाना एकाएक ओइलाएका छन् । कफीका पात ओइलाउने, मर्ने, झर्ने, हाँगा सुक्ने, बोटमा रहेका फल सुक्ने र बोट नै मर्ने समस्या देखापरेको छ ।

बोर्डका अनुसार गण्डकी प्रदेशमा मात्रै वार्षिक २ लाखको संख्यामा कफी नर्सरीमा बिरुवा उत्पादन हुन्छन् । कफीमा देखिएको यस प्रकोपका कारण एक लाख बिरुवामा क्षति पुगेको बागवानी अनुसन्धान केन्द्र पोखराका प्रमुख युवराज भुषालले बताउनुभयो ।

प्रदेशभर करिब १ हजार हेक्टरमा कफी बिस्तार भएको छ, जसबाट १५० मेट्रिक टन ग्रिन बिन कफि उत्पादन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button