तपाईँ सुन्दै हुनुहुन्छः

‘१५ दिने परिक्रमा धर्मिक पर्यटनका लागि महत्वपूर्ण'(फोटोफिचर )

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ दिने मध्यमा मिथिला परिक्रमाले यस क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धनमा ठूलो मद्दत गरेको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाको वडा नंं ८ कचुरीमा रहेको मिथिला हिवारी मन्दिरबाट शुरु भएको मिथिला विहारीको डोलाको शुभारम्भ तथा नव निर्मित प्रवेशद्वारको आज उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।

उहाँले १५ दिने मिथिला परिक्रममा नेपाल भारतका लाखाँै व्यक्ति सहभागी हुने महाकुम्भ भएकाले यसको बिकासका लागि आफू प्रधानमन्त्री भएको बेलामा परिक्रमा मार्गको निर्माणमा केही सहयोग गर्न पाएकामा खुशी महशुस गरेको स्मरण गर्नुभयो ।

अध्यक्ष प्रचण्डले परिक्रमा नेपाल भारत दुबै देशका जनताको साझा सांस्कृति एवं धार्मिक धरोहर रहेको बताउदै यसले दुवै देशको जनता बीचको सम्बन्धलाई सुमधुर बनाउनुका साथै सांस्कृति आदान प्रदान गर्ने भएकाले यसलाई पर्यटनसँग जोडेर बिकास गर्न सकेको खण्डमा दुबै देशलाई आर्थिक लाभ हुने बताउनुभयो ।

उहाँले मिथिला विहारी मन्दिरको नाममा परिषद निर्माणका लागि आफूले सरकारसँग समन्वय गर्ने बताउदै चाडै यस ठाउँमा सुविधा सम्पन्न धर्मशालाको निर्माण हुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा नेकपाका स्थायी कमिटीका सदस्य रघुवीर महासेठले नेकपा धर्म बिरोधी पार्टी नरहेको बताउदै सबै धर्मप्रति समान आस्था राख्ने पार्टी भएको यस कार्यक्रमले पनि प्रष्ट पारेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले काँधमा बोकेर मिथिला विहारी मन्दिरबाट डोलाको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा हेलिकप्टरले पुष्पबृष्टि समेत गरेको थियो । मिथिला विहारीको डोला उठेर जनकपुरधामको हनुमान गढीमा आएपछि परिक्रमाको भोली अर्थात फाल्गुण प्रतिपदाबाट विधिवत रुपमा शुभारम्भ हुने भएको छ ।

कार्यक्रमको मिथिला विहारी नगरपालिकाका प्रमुख अनिल कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । डोलालाई जनकपुरधाम आउने क्रममा ठाउँ ठाउँमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button