तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशको आर्थिक समृद्धिका लागि लगानी साझेदारी

अछाम । सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिका लागि प्रदेश सरकारले लगानी साझेदारी अन्तक्र्रिया गरेको बताउनु भएको छ ।

लगानीमा साझेदारी बढाउन अछाम, बाजुरा र डोटी जिल्लाका जनप्रतिनिधि बीच अछाम सदरमुकाम मंगलसेनमा भएको लगानी साझेदारी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री बोहराले सिंगो प्रदेशको समृद्धिका लागि प्रदेश सरकारले बिभिन्न योजना अगाडि सारेको बताउनु भएको हो ।

प्रदेशलाई समृद्ध बनाउन रणनैतिक योजनासहित अगाडी बढेको बताउदै मन्त्री बोहराले प्रदेशमा बित्तिय सम्मेलन पश्चात लगानी सम्मेलन आयोजना गर्न लागिएको उल्लेख गर्नुभयो ।

“हालै प्रदेशले वित्तीय सम्मेलन गरेको छ, त्यसबाट यो क्षेत्रका लागि राम्रो बाटो पहिल्याएको र अब लगानी सम्मेलन गर्ने तयारी समेत गरेका छौँ” आर्थिक मामिला तथा योजना मन्त्री बोहराले भन्नुभयो । लगानी सम्मेलनका लागि हरेक जिल्ला तथा स्थानीय तहले आफ्नो लगानीय योग्य योजनाको बिस्तृत परियोजना प्रतिवेदन तयार गर्नुपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको समेत बताउनुभयो ।

प्रदेश सरकारले पञ्च बर्षीय योजना तयार गरी सोही अनुसार अघि बढ्ने योजना बनाएकोले सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आर्थिक समृद्धिको ढोका खोल्न स्थानीय तहमा रहेका लगानी योग्य क्षेत्रको पहिचान गर्ने उद्देश्यले जनप्रतिनिधि बीच अन्तरक्रिया गरिएको मन्त्री बोहराको भनाई छ ।

लगानीमा साझेदारी बढाउन अछाम जिल्लासहित बाजुरा र डोटी जिल्लाका समन्वय समितिका प्रमुख, उप प्रमुख, नगरपालिकाका प्रमुख उप प्रमुख तथा गाउँपालिकाका अध्यक्ष उपाध्यक्षको सहभागीतामा रहेको अन्तरक्रिया कार्यक्रमका सहभागी जनप्रतिनिधिले आफ्नो क्षेत्रका लगानी योग्य सम्भावना र प्रदेश सरकारले गर्नुपर्ने सहयोगका बारेमा सुझाव दिएका छन् ।

सहभागीका सुझाव तथा गुनासो पश्चात् अर्थमन्त्री बोहराले स्थानीय तहहरुले उठाउन मिल्ने करका दायराका बारेमा सबै सम्बन्धित तहका जनप्रतिनिधि जानकार तथा चनाखो हुनुपर्ने बताउनुभयो ।

एउटै प्रदेशमा रहेका स्थानीय तहहरुमा एउटै बिषयमा कर शुल्क फरक फरक देखिएकोमा ध्यानाकर्षण भएको बताउदै मन्त्री बोहराले करको शुल्क कम बढि हुनुको ओैचित्य स्थानीय तहले पुष्टि गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै अर्थ बिकास तथा प्राकृतिक स्रोत बिकास समितिका सभापति हर्क बहादुर कुवँर (गोबिन्द)ले सविधानले दिएका अधिकार पुरा गर्न अझै पनि नसकिएको बताउदै संघीय सरकारले प्रदेश सरकारलाई अझै अधिकार दिन नसकेको बताउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button