तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा अज्ञात समुहद्वारा एक घरमा आगजनी, तीन मोटरसाइकल जलेर नष्ट, लाखौँको क्षति

बीरगंज । बीरगंज महानगरपालिका वडा न २१ परवानीपुर निवासी किशोरी ठाकुरको घरमा गएराति अज्ञात समूहले आगजनी गर्दा घरमा रहेका तीन वटा मोटरसाइकल जलेर नष्ट हुनुका साथै लाखौँको क्षति भएको छ ।

ठाकुरको घरको बरण्डामा राखिएको ना १० प ८५५४,ना ३२ प १८२८ र प्रदेश २ ०३००५ प ७८६३ नम्बरको मोटरसाइकलमा अज्ञात समुहले गएराति १२ बजेको समयमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

मोटरसाईकलमा आगो लगाउने क्रममा घरको वरण्डा तथा पर्खालमा समेत क्षति पुग्दा झण्डै ५० लाखको नोक्सानी भएको प्रहरीले जनाएको छ ।

आगोलाई प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो । परवानिपुरदेखि पटेलनगर जाने बाटो फराकिलो बनाउने अभियानमा लागेका किशोरी ठाकुरको घरमा ब्यक्तिगत रिसिइबिका कारण आगजनी गराइएको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन ।

आगजानी गर्ने समुहको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

त्यसैगरी पर्साको जिराभवानी गांउपालिका वडा नम्बर ५ मा आज बिहान लामखट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको छ ।

स्थानीय अमिन चौधरीको गोठमा बालिएको घुरले आगलागी हुँदा चौधरीको गोठसंगै रहेको स्थानीय सुरेन्द्र भण्डारीको खपडाको कच्ची घरपनि जलेर पुर्णरुपमा नष्ट भएको छ ।

आगलागीबाट घरमा रहेको अन्नपात, भाँडाकुँडा, गरी करिब ३ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button