तपाईँ सुन्दै हुनुहुन्छः

एचआइभी पिडित निःशुल्क स्वास्थ्य बिमामा सहभागी भएनन्

महोत्तरी । सरकारले एच.आई.भी.एडस पिडितका स्वास्थ्य बिमा निःशुल्क गरे पनि सामाजिक बहिष्कारका कारणले महोत्तरीमा एक जना पनि समावेश भएका छ्रैनन् ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजना गरिएको एचआइभी एड्स सम्बन्धी सरोकारबालासँगको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा जिल्ला अस्पतालमा जलेश्वरमा सञ्चालन भइरहेको एआरटीका काउन्सिलर राजीव पाठकले एचआइभी एड्सबाट पिडित भएकाहरुलाई सरकारले स्वास्थ्य बिमा निःशुल्क गरेको भएपनि समाजमा एचआइभी लागेको थाहा पाए हेला गर्ला भन्ने डरले कोही पनि बिमामा सहभागि नभएको बताउनुभयो ।

उहाँले अस्पतालबाट दई सय ६५ जना बिरामीहरु औषधी खाइरहे पनि बिमामा कोही सहभागी नभएको बताउनुभयो । उहाँले औषधी खानेहरुमा एक सय चार जना महिला,एक सय ३८ जना पुरुष, चार जना तेस्रोलिङ्गी तथा १९ जना बालबालिकाहरु रहेको बताउनुभयो ।
कार्यक्रममा डा.पुलकित चौधरीले सामाजिक हेला, हिनताबोध, भेदभावको डरले एड्स पिडितहरु सार्वजनिक हुन डराउने गरेको बताउनुहुदै यो कुनै सरुवा रोग नभए पनि जनचेतना अभावमा भेदभाव गरिएको बताउनुभयो ।

नेपाल सरकारले सन् २०३० सम्ममा एचआइभी एड्समुक्त नेपाल बनाउने लक्ष्य लिएको जानकारी गराउनुहुदैँ उहाँले लक्ष्य प्राप्तीको लागि यस अभियानमा सबैले सहयोग गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

नेपाल सरकारले स्वास्थ्यलाई मौलिक हकमा राखे पनि यससम्बन्धी जानकारी अभाव रहेकोमा जोड दिनुहुदै डा.चौधरीले भन्नुभयो, ‘स्वास्थ्य सम्बन्धी विषयमा हेला, भेदभाव गरेको खण्डमा मानवअधिकारको उल्लंघन हुने भएकोले यसप्रति सबैजना सजग र सचेत हुनुपर्छ ।’

त्यसैगरी स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद चौधरीले यो रोग हावा, पानी वा संगै बस्दा, खाँदा नसर्ने भए पनि यो रोग लागेका व्यक्तिहरुलाई समाजले नराम्रो दृष्टिकोणले हेर्ने र भेदभाव गरिने कार्यलाई निरुत्साहित गर्न मानव अधिकारकर्मी, सञ्चारकर्मीसहित समाजका सबै सरोकारवालाहरु लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button