तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडा उपमहानगरपालिकाको छैठौं नगरसभा सम्पन्न

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको छैठौं नगरसभा बुधबार सम्पन्न भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहहरुले बर्षिक दुई पटक नगरसभा गर्नुपर्ने प्रावधान अनुसार आज हेटौंडा उपमहानगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको सभाध्यक्षतामा भएको नगरसभामा उपमेयर मिना कुमारी लामाले चालु आर्थिक बर्षमा भएको कार्य समिक्षा एवम् नीति कार्यक्रम तथा संसोधन सहितको बजेट प्रस्तुत गर्नुभएको थियो ।

सभाबाट दुई अर्ब आठ करोड ५४ लाख ४१ हजार बराबरको बजेट पास गरेको छ ।

यस अघि उपमहानगरपालिकाको २०७६ साल असाढ १२ गते सम्पन्न पाँचौ नगरसभाबाट एक अर्ब ८१ करोड १८ लाख बराबरको बजेट पास गरेको थियो ।

सभालाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जनताको अभिभावकको रुपमा काम गरिरहेको बताउनुभएको छ ।

मेयर महतले जनताको नजिकको सरकार स्थानीय सरकारले अभिभावकका रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिका लागि उपमहानगरपालिका लागेको बताउनुभयो ।

समानुपातिक विकासको अवधारणा अनुसार स्वास्थ्य, शिक्षा, खेलकुद, पुर्वाधारलगायतका क्षेत्रमा काम अगाडी बढेको बताउनुभयो ।

उहाँले आर्थिक, सामाजिक, सांस्कृतिकलगायत चौतर्फी बिकास हेटौंडा उपमहानगरपालिकाको लक्ष्य रहेको बताउनुभयो । सभामा सदस्यहरुले उठाएका प्रश्नहरुको पनि मेयर महतले जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button