तपाईँ सुन्दै हुनुहुन्छः

कालिञ्चोकमा भारी हिमपात (फोटोफिचर)

दोलखा । दोलाखको पर्यटकीय एवं धार्मिक केन्द्र कालिञ्चोकमा बुधवार बिहानैदेखि भारी हिमपात भईरहेको छ । लगातारको हिमपातका कारण कालिञ्चोकको टाँपु तथा कुरीमा दुई फिटभन्दा बढी हिउँ जमेको स्थानीयले बताएका छन् ।

केही दिनदेखि कालिञ्चोकमा लगातार हिमपात भईरहेकोमा बुधबार बिहानैदेखि भारी हिमपात भएको कुरीमा सञ्चालित सुनपाति होटलका मेनेजर विमल ओझाले बताउनुभयो ।

बुधवार बिहान तीन बजेदेखि भारी हिमपात भएको थियो ओझाले भन्नुभयो– बिहान ११ः०० बजेतिर केही समय बन्द भएको हिमपात पुनः १ः०० बजेबाट सुरु भएको छ ।

लगातारको हिमपातपछि अत्यधिक चिसो बढेकोले कालिञ्चोक आसपासको जनजीवन प्रभावित भएको छ । तर चिसोको प्रवाह नगरी सयाँै पर्यटकहरु हिउँमा रमाई रहेको सुनपाति होटलको मेनेजर ओझा बताउनुहुन्छ । काठमाडौँ तथा चरिकोटबाट कालिञ्चोक जाने सवारी साधनहरु हिमपातका कारण गैरीसम्म मात्र पुग्ने र गैरीबाट चेन भएका केही बोलेरोले यात्रु ओसारी रहेको स्थानीय होटल व्यवसायीहरुले बताएका छन् ।

कालिञ्चोकमा हिमपात सुरु भएपछि पर्यटकको संख्यामा पनि बृद्धि हुदै गएको स्थानीय बताउछन् । तीन हजार आठ सय ४२ मीटरको उँचाईमा रहको कालिञ्चोक धार्मिक महत्वको प्राकृतिक सुन्दरताले भरीएको काठमाडौँबाट नजिकको उच्च पहाडी भेग भएकोले पनि हिमपातको मौसममा सयाँै पर्यटक पुग्ने गरेको स्थानिय होटल व्यवसायीहरु बताउछन् ।

दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमीटरको दूरीमा रहेको कालिञ्चोकको कुरीमा अहिले ६० भन्दा बढी सुविधासम्पन्न होटलहरु रहेको र कुरीबाट कालिञ्चोकको टाँपुसम्म केवलकार समेत सञ्चालनमा रहेकोले पनि पर्यटकको संख्यामा बृद्धि भएको स्थानीयको भनाई छ ।

मौसममा भएका परिर्वतनसँगै दोलखाको खावाँ, खरीढुङ्गा र शैलुङ क्षेत्रमा समेत हिमपात भै रहेको स्थानियले बताएका छन् ।

लगातारको हिमपातका कारण जिरी पुग्ने सवारी साधन खावाँमा केहि समय अवरुद्ध भएपनि प्रहरीले स्थानियको सहयोगमा हिउँ पन्छाएर यातायात सुचारु गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताउनुभयो ।

खावाँ, खरीढुङ्गा र शैलुङ क्षेत्रमा हिमपातले यातायात अवरुद्ध हुनसक्ने भएकोले प्रहरी निरीक्षक रेशम बोहोराको कमाण्डमा प्रहरी परिचालन गरिएको र केही अवरोध हुन लागे तत्काल हिउँ पन्छाएर यातायात सुचारु गरिने प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button