तपाईँ सुन्दै हुनुहुन्छः

रामपुर पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा

पाल्पा । भ्रमण वर्ष २०२० लाई लक्षित गरी पाल्पाको रामपुर नगरपालिकामा हुन लागेको दोस्रो रामपुर पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही आउँदो फागुन २४ गते देखि साताव्यापी रुपमा हुने महोत्सवको अहिले प्रचार प्रसारको काम अगाडी बढाइएको छ । पर्यटन प्रवद्र्धन समिति रामपुर नगरपालिकाको आयोजनामा हुने दोस्रो पर्यटन महोत्सवका अवसरलाई लक्षित गरी विभिन्न स्थानमा छलफल, अन्र्तक्रिया लगायतका कामहरु भइरहेको छ ।
महोत्सव सफल बनाउन नगरपालिकाका योजना प्रमुख कपिलबहादुर खाँणको नेतृत्वमा पर्यटन पर्वद्धन समितिका सदस्यहरु दिवाकर देवकोटा, रुद्रनारायण श्रेष्ठ, बुद्धिप्रकाश रेग्मी, उमानाथ अर्याल सहितको टोलीले नारायणघाट, कावासोती, बुटवल लगायतका स्थानमा छलफल तथा अन्र्तक्रिया गरेको छ । बाह्य पर्यटकलाई रामपुर भित्र्याउन र पर्यटन प्रवद्र्धन गर्नका लागि आयोजना गरिएको महोत्सवमा विभिन्न स्थानमा गरिएको छलफल अन्र्तक्रिया कार्यक्रममा सहभागीले सकारात्मक रुपमा लिएका छन् । नेपाल सरकारको पर्यटन वर्ष २०२० लाई सफल बनाउन, रामपुर नगरपालिका सहित समग्र कालीगण्डकी वेशीको विकासका लागि पर्यटन महोत्सव आयोजना गर्न लागेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

भौगोलिक बनावटले अत्यन्तै सुन्दर रहेको रामपुर उपत्यकालाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न र बाह्य पर्यटक यहाँ ल्याउने उद्धेश्यले महोत्सव आयोजना गरिएको नगर प्रमुख थापा बताउनुहुन्छ ।

कालीगण्डकीमा जलयात्रा, रामपुर उपत्यकामा प्याराग्लाईडिङ्ग, रामपुरका धार्मिक तथा पर्यटकिय तीर्थस्थलको अवलोकन, स्थानीय कला संस्कृतीको प्रदर्शन लगायतका कार्यक्रम रहेको नगर प्रमुख थापाले बताउनुभयो । प्रचार प्रसार कार्यक्रम अन्र्तगत यसैगरी शनिवार पाल्पाली सेवा समाज पोखरासंग नगर प्रमुख रमणबहादुर थापा र प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले पर्यटन महोत्सवका सन्दर्भमा छलफल गर्दै हुनुहुन्छ । यसभन्दा अगाडी नगर प्रमुख थापाले काठमाण्डौँमा पर्यटन महोत्सवका सन्दर्भमा सरोकारवाला बीच छलफल गरिसक्नुभएको छ ।

यसैगरी रामपुर उपत्यकामै पहिलो पटक कालीगण्डकी वेशीका पाल्पाको रामपुर नगरपालिका र स्याङ्गजाको चापाकोट नगरपालिकालाई जोड्ने गरी सीताकुण्ड देखि रामडाँडा सम्म पैदलयात्रा हुदैछ । उई लभ पिपुल नामक संस्थाको आयोजनामा रामपुर नगरपालिकाले समन्वय गरी पैदलयात्रा गर्न लागेको हो । पर्यटनको प्रचुर सम्भावना बोकेको रामपुर चापाकोट क्षेत्रमा पर्यटकलाई पैदलयात्रामा सहभागीता गराएर यहाँको पर्यटकिय, धार्मिक, ऐतिहासिक क्षेत्रको अवलोकन गराउन पैदलयात्रा कार्यक्रम आयोजना गरिएको हो ।

कालीगण्डकीको वारिपारी रहेको रामपुर र चापाकोट क्षेत्र पर्यटनका हिसाबले अत्यन्तै राम्रो भुगोल रहेको हुदा भ्रमण वर्षलाई लक्षित गरी आयोजना गरिएको पैदलयात्रा कार्यक्रमले कालीगण्डकी वेशी क्षेत्रको पर्यटन विकासमा ठुलो टेवा पुग्नेछ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भलाई सफल बनाउन र रामपुर चापाकोटको पर्यटन विकासलाई माथि उकास्न रामपुर नगरपालिका संगको सहकार्यमा पहिलो पटक पैदलयात्रा कार्यक्रम गर्न लागेको उई लभ पिपुल संस्थाका अध्यक्ष निर्मल शाहीले बताउनुभयो ।

साताव्यापी रुपमा गरिने पर्यटन महोत्सवका लागि पर्यटन बोर्डबाट रु पाँच लाख सहयोग आएको र आवश्यक सहयोग नगरपालिकाले गर्ने बताइएको छ । स्याङ्जा र पाल्पाको सिमानामा रहेको मालुङ्गाधामबाट कालीगण्डकीमा जलयात्रा सुरु गरी रामपुर नगरपालिका ८ को पर्यटकीय स्थल सिद्धबाबा धाम भुजातमा साँस्कृतिक कार्यक्रम गरिने भएको छ ।

रामपुर नगरपालिकाको बेझाड बजार स्थित राममन्दिर रामचुलो तथा निर्माणाधीन रामजानकी मन्दिर, राम्चे भ्युटावर, रामघाट, लक्ष्मीनारायण धर्मशालालाई अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै केलादी, टापुधाम, सीताकुण्ड, तातोपानी गौशाला, बाहुनडाँडा, तालपोखरा, रामकुवा, खैरेनी सामुदायिक वन, भुजात सिद्धबाबा, च्याङ्लिङ्ग सिद्धबाबा मन्दिर, हेक्लाङ्ग जल्पा मन्दिर लगायतका विभिन्न धार्मिक तथा पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रको अवलोकन गराउने कार्यक्रम तय भएको छ । जलयात्रा, प्याराग्लाईडिङ्ग, पर्यटकिय तथा धार्मिक एवम् ऐतिहासिक तीर्थस्थलको अवलोकन प्याकेजमा गराइनेछ । यसका लागि समितिले तोकेको समय भित्र नै टिकट बुकिङ्ग गर्नुपर्नेछ । पर्यटन महोत्सवमा जलयात्रामा आएका पर्यटकलाई भुजात सिद्धबाबाधाममा टेण्टमा आवासको व्यवस्था गरिने र यस क्षेत्रको पर्यटकीय वातावरण सँग रमाउने वातावरण मिलाइनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button