तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घीय सरकारले पुरानै मानसिकतालाई महत्व दियो : मुख्यमन्त्री राउत

जनकपुरधाम। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई राजधानी, पहिचान, विशिष्टता र आवश्यकतालाई ध्यानमा राखी दूरगामी सोच निर्धारण गर्नुपर्ने औँल्याउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘जनकपुरधाम सन् २०४० ः दूरगामी सोच निर्धारण तथा समावेशी आर्थिक योजना तर्जुमा गोष्ठी’को शुभारम्भ गर्दै उहाँले जनकपुरधामलाई सांस्कृतिक, व्यावसायिक, शैक्षिक तथा स्वास्थ्य शहरका रूपमा विकास गर्न गहन रूपले चिन्तन मनन गर्नुपर्दछ भन्नुभयो ।

जनकपुरधाम माता जानकीको जन्मस्थल तथा विद्वान्को भूमि भएकाले सबै तथ्यलाई ध्यानमा राख्दै संसारलाई चिनाउने किसिमले दूरगामी सोच निर्धारण आवश्यक रहेको मुख्यमन्त्री राउतले बताउनुभयो । प्रदेश सरकार जनकपुरधामको विकास गर्ने सन्दर्भमा हरेक किसिमले तयार रहेको पनि उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री राउतले सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको जग्गा बेच्दै गर्नु प्रादेशिक सरकारको अधिकारमाथि हमला भएको र सार्वजनिक जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नगरी सङ्घीय सरकार पुरानै मानसिकतालाई महत्व दिइरहेको आरोप लगाउनुभयो । उहाँले ‘सङ्घीय सरकारले पठाएका सचिवहरूले प्रदेशमा काम हुन नदिने मानसिकता बोकेका कारण’ प्रदेशमा विकासले गति लिन नसकेको र आगामी दिनमा प्रदेश सरकार सङ्घविरुद्ध आन्दोलनमा समेत जान सक्छ भन्नुभयो ।

उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको समारोहमा नेपाल शहरी उत्थानशील परियोजनाका सल्लाहकार कृष्ण ज्ञवालीले सन् २०२० पछि जनकपुरधाम कस्तो हुने सोच प्रस्तुत गर्नुभयो । कार्यशाला बुधबारसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button