तपाईँ सुन्दै हुनुहुन्छः

दुधकोशी २ (जलेश्वर) को निर्माण ५ बर्षमा सम्पन्न गर्ने


सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको दूधकोशी नदीमा दूधकोशी हाईड्रोपावर प्रा.लि.ले निर्माण गर्न लागेको ७० मेगावाट क्षमताको जलेश्वर २ जलविद्युत आयोजनाको पूरक वातावरणीय प्रभाव मुल्याङ्कनको सार्वजनिक सुनुवाई गरिएको छ ।

आयोजना निर्माण क्षेत्रमा पर्ने बर्खुघाटमा भएको सार्वजनिक सुनुवाईमा थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले स्थानीय सरकारसँग समन्वय गरेर मात्र सामाजिक उत्तरदायित्व बापतको रकम खर्च गर्ने गरी वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार पार्न सुझाव दिनुभयो ।

सुनुवाईमा जनप्रतिनिधि तथा सरोकारवालाहरुले गाउँपालिकाको वडा नं. ६ मुक्ली र वडा नं. ८ देउसालाई अति प्रभावितमा राख्नुपर्ने, माछा लोप हुने र माछा मारेर जीविका चलाउने परिवार विस्थापित हुनुपर्ने अवस्थालाई व्यवस्थापन तथा लगानीको सुनिश्चित गर्न, सुरुङ खन्दा अपनाउनुपर्ने सावधानी तथा सम्भावित क्षतिलाई ध्यान दिनुपर्ने लगायतका सुझाव दिएका छन् ।

पूरक वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्दै वातावरणविद् सलिल देवकोटाले खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रबुवाघाटमा नेपाल विद्युत प्राधिकरणको लगानीमा बन्ने दूधकोशी जलाशययुक्त आयोजना (६३५ मेगावाट)का कारण दुधकोशी २ (जलेश्वर) जलविद्युतको क्षमता २३० मेगावाटबाट ७० मेगावाटमा झारिएको बताउनुभयोे ।

करिब साढे १४ अर्ब लगानीमा सम्पन्न हुने आयोजनाको प्रभावित क्षेत्र थुलुङदूधकोशी गाउँपालिका मात्र पर्दछ । दूधकोशी हाईड्रोपावर प्रा.लि.का प्रबन्ध निर्देशक जनक खनालले सुनुवाई कार्यक्रमबाट आएका सुझावलाई समावेश गरी प्रतिवेदनलाई पूर्णता दिने र प्रभावित नागरिकलाई सजिलो हुने गरी आयोजना निर्माणको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोजनाको ३.४ किलोमिटर सुरुङ रहेको छ । आयोजना पाँच बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button