तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा कोरोना भाईरसको संक्रमण भित्रन नदिन बिशेष सतर्कता


पर्वत ।
पर्वत जिल्लामा कोरोना भाईरसको संक्रमण भित्र्नि नदिन बिशेष सतर्कता अपनाईएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन पर्वतमा मेला महोत्सव, भेला, खेलकूदका कार्यक्रम गर्न र भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न प्रशासनले कडाईका साथ अनुरोध गरेको छ ।

कोरोनाको संक्रमण फैलन नदिनका लागि सम्भव हुने सबै उपाय अबलम्वन गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।

कोरोना संक्रमण फैलिन नदिन फलेवासमा आयोजना गरिएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्थगित भएको छ । दुर्लुङमा आयोजना गरिएको एक भेला पनि प्रसासनले रोकेको छ । त्यस्तै जिल्लामा हुने तालिम, गोष्ठी पनि धमाधम स्थगित हुन थालेका छन् ।

बिद्यालयहरुलाई पनि परिक्षाको मिति सार्न लगाईएको छ । संक्रमणको आशंका भएका बिरामीलाई छुट्टै राखेर उपचार गर्न पर्वत जिल्ला अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्ने र कम्तीमा पाँच वटा बेड तयार गर्ने निर्णय भएको छ ।

पर्वत जिल्ला अस्पतालमा कार्यरत बिशेषज्ञ डाक्टर डा. बिष्णु भण्डारीको नेतृत्वमा क्विक रेस्पोन्स टिम समेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो ।

बजारमा अत्याबश्यक खाद्यन्नको अभाव हुन नदिन र कालोबजार रोक्न औषधी पसलदेखि दैनिक उपभोग्य सामाग्री बिक्री बितरण गर्ने पसलहरुमा समेत अनुगमन गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button