तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजको सिर्सिया सडकखण्ड ट्राफिक प्रहरीको अवैध असुलीको केन्द्र बन्दै

बीरगंज । बीरगंज पथलैया औद्योगिक मार्ग आयोजना अन्तरगत पर्ने सिर्सिया सडकखण्डमा अनाधिकृत रुपमा ट्राफिक प्रहरीले भारतीय मालबाहक सवारी साधनसँग पैसा असुल्ने गरेका छन् ।

औद्योगिक करिडोरमा ढुवानीको भारवहन मापदण्डमा अपनाइएको कडाइको कारण ट्राफिक प्रहरीका लागि अनधिकृत असुली गर्ने बहाना भएकोे छ ।

मालवाहक सवारीसाधनको भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाको अत्तो थापेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन ।

क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको भेटिएको छ ।

बीरगंज भन्सार कार्यालय आईसिपी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसँग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैयासम्म असुल्ने गरेको भेटिएको छ ।

डियुटीमा खटिएका ट्राफिकले बढी भारवहन बोकेको दुई वटा भारतीय ट्रकलाई लाईनमा लगाएर पैसा असुलेका थिए । यस सम्बन्धमा डियुटीमा खटिएका ट्राफिक प्रहरीसँग बुझ्दा आफूहरुबाट गल्ती भएको भन्दै माफि मागेको र यो समाचार सार्वजनिक नगरिदिन अनुरोध समेत गरेका थिए ।

विगतमा वीरगंज नाकाबाट भित्रिने भारतीय ट्रकहरुलाई लाईन लगाएर रजत जयन्ती चोकमा पैसा असुल्न पल्केको ट्राफिक प्रहरीले अहिले रजत जयन्ती चोकलाई छाडेर सिर्सियालाई अवैध असुलीको केन्द्र बनाएको छ ।

यस सम्बन्धमा प्रदेश–२ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख श्याम महतोले सिर्सियामा ट्राफिक प्रहरीले पैसा असुल्ने गरेको घटनाको बारेमा आफूले पहिलो पटक थाहा पाएको र यस सम्बन्धमा अनुसन्धान गरी दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण परवानीपुर सिर्सिया सडकखण्डमा सवारी जाम समेत लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button