तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर गृह परिक्रमासँगै मध्यमा मिथिला परिक्रमा सम्पन्न, लाखौँ सहभागी

जनकपुरधाम । मिथिलासहित नेपालकै सबैभन्दा लामो तथा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको १५ दिने मध्यमा मिथिला परिक्रमा आज औपचारिक रुपमा सम्पन्न भएको छ ।

मध्यमा मिथिला परिक्रमामा सहभागी भएका तीर्थयात्रीहरु सहित अन्य तीर्थयात्रीहरुले जनकपुरधामको पञ्चकोशी अन्तरगृह परिक्रमा गरेपछि यस बर्षको मध्यमा मिथिला परिक्रमा सम्पन्न भएको हो ।

नेपाल–भारतबाट आएका लाखाँै व्यक्तिहरु सहभागि भएको मध्यमा मिथिला परिक्रमाको अन्तिम दिन आजको अन्तरगृह परिक्रमामा त्यसभन्दा निक्कै भिड देखिएको छ ।

अन्तरगृह परिक्रममा श्रद्धालु भक्तजनहरु आज बिहान २ः०० बजे राति देखि नै घुम्न थालेका थिए । अन्तरगृह परिक्रमामा करिव पाँच लाख भक्तजनहरु सहभागि भएको अनुमान गरिएको रामानन्दीय वैष्णव संघका बरिष्ठ उपाध्यक्ष एवं सीता कुण्डका महन्थ रामनरेश दास वैष्णवले जानकारी दिनुभयो ।

१५ दिने मध्यमा मिथिला परिक्रमामा सहभागि भएका तीर्थयात्रीहरु अनिवार्य रुपमा नै अन्तरगृह परिक्रममा सहभागि भएर घर फर्किने गरेका छन् ।

१५ दिने मध्यमा मिथिला परिक्रममा सहभागि नभएका व्यक्तिहरु पनि अन्तरगृह परिक्रमामा सहभागि भएपछि पुण्य प्राप्त हुने भएकाले बढी मात्रामा भक्तजनहरु सहभागि हुने गरेका छन् ।

मध्यमा मिथिला परिक्रमामा मिथिला बिहारी अर्थात भगवान राम तथा किशोरी जी अर्थात माता जानकीको डोलासँगै भजन किर्तन गर्दै खाली खुट्टा परिक्रमाका सहभागि भएर नेपाल तथा भारतको एक सय ३३ किलोमिटरको दूरी तय गरेर हिजो मात्र जनकपुरधाम आई पुगेका थिए ।

मिथिला क्षेत्रको महाकुम्भको रुपमा रहेको मध्यमा मिथिला परिक्रमाका सहभागिहरु अन्तरगृह परिक्रमा गरेर आ–आफ्नो घर फर्केपछि भोली होली खेल्ने चलन रहेको छ ।

जनकपुरधामको अन्तगृह परिक्रमामा मार्ग कालोपत्रे भएपछि सर्वसाधारणले निक्कै राहत पाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button