तपाईँ सुन्दै हुनुहुन्छः

झोलाबाट शुरु भएको सहकारीले लिफ्टसहितको भवन बनाउँदै

पाल्पा ।  झोलाबाट शुरु भएको रामपुर बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लामै नमूनाका रुपमा लिफ्टसहितको बहुउद्देश्यीय भवन बनाउँदैछ ।

तीन वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ रु दुई करोड ६५ लाखको लागतमा साढे चार तलाको भवन निर्माण गर्ने कार्य भइरहेको बताइएको छ । एक रोपनी जग्गामा पार्किङ सहितको भवन निर्माणको दोस्रो वर्षको काम शुरु भइरहेको छ । हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ भने अबको एकवर्ष भित्र निर्माण कार्य सकिने सहकारीका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताउनुभयो ।

“सहकारीको इतिहास झोलाबाट शुरुआत गरिएको हो, अहिले आफ्नै कोषबाट पाल्पा जिल्लामै पहिलो लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण कार्य गरिरहेका छौँ, हामी सदस्यको सेवालाई बढी प्राथमिकता दिएर काम गरिरहेका छौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

‘सदस्यको पहिलो रोजाइ, व्यावसायिक सबल एवं उत्कृष्ट सहकारी’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै व्यवसायिकतालाई प्रमुख प्राथमिकतामा राखेर कार्यक्रममा अगाडि बढाएको उहाँले बताउनुभयो । छरिएर रहेका सहकारीलाई एकीकृत गरी सेवाको दायरालाई फराकिलो बनाउन चन्द्रज्योति बचत तथा ऋण सहकारीसँग एकीकरण गरी विसं २०६५ जेठ १ गतेदेखि कारोवार सञ्चालन गरी सहकारी एकीकरणको महत्वपूर्ण काम जिल्लामै गर्न सफल भएको छ ।

सहकारीले रु साढे ४२ करोड बराबरको कारोवार गर्दै आइरहेको व्यवस्थापक रामचन्द्र अधिकारी बताउनुभयो । सहकारीमा हाल दुई हजार एक सय १९ महिला, एक हजार ८८८ पुरुष गरी चार हजार ५४ शेयर सदस्य आबद्ध छन् । १३ सदस्यीय सञ्चालक समितिमा तीन महिला र १० पुरुष छन् भने तीन जना लेखा समिति सदस्यमा एक महिला र दुई जना पुरुष छन् ।

संस्थाले नियमित, ऐच्छिक, दैनिक, बाल बचत, आवधिक, बीमा, रेमिट्यान्स, सामाजिक, ज्येष्ठ सदस्य, विशेष, शिक्षा, समूह बचतजस्ता सेवा प्रवाह गरिरहेको छ । व्यापार, घरखर्च, कृषि र पशु, घर निर्माण तथा जग्गा खरिद, वैदेशिक रोजगार, सामाजिक, शैक्षिक, उद्योग, हायर पर्चेज ऋण उपलब्ध गराउँदै आएको संस्थाका सचिव लेखनाथ शर्मा मरासिनीले बताउनुभयो ।

सहकारीले गरेका काम

कृषकलाई व्यावसायिक कृषि कार्यक्रमअन्तर्गत तालीम, महिलालाई लक्षित गर्दै व्यावसायिक रुपमा ढाका कपडा सिलाइकटाइ तालीम, संस्थागत विकासका लागि सहकारी अध्ययन अवलोकन भ्रमण (आन्तरिक तथा बाह्य), साधारण सभामा नियमितरुपमा असल बचतकर्ता तथा असल ऋणी, उद्यमी कृषकलाई पुरस्कृत गर्ने गरेको छ ।

निरन्तर सहकारी शिक्षा कार्यक्रम सञ्चालन, सामुदायिक रेडियोबाट सहकारी शिक्षा कार्यक्रम, राष्ट्रिय सहकारी दिवसको अवसर पारेर विभिन्न कार्यक्रम, पाल्पा जिल्लामा सञ्चालनमा रहेका सहकारी संस्थाका कर्मचारीलाई लेखा तालीम, सुपथ मूल्यको सहकारी सस्तो पसल सञ्चालन गरी सदस्यलाई सेवा दिइरहेको छ ।

साधारण सभामा सदस्यलाई यातायात भत्ता उपलब्ध, कृषक तथा वृद्धलाई अध्ययन अवलोकन भ्रमण, स्थानीय क्लब तथा आमा समूहसँग मिली सामाजिक कार्यमा सहभागी, साधारण सभामा विभिन्न विधामा सम्मानजस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । पूर्ण तथ व्यावसायिक साकोस विकास कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी लिमिटेड काठमाडौँबाट २०७० पश्चिमाञ्चल विकास क्षेत्रबाट सर्वोकृष्ट सहकारी संस्था, २०६५ सालमा नेपालमै पहिलो सहकारी एकीकरण पुरस्कारबाट डिभिजन सिँचाइ कार्यालयका पाल्पाबाट सम्मानित भएको छ ।

२०७४ मा आन्तरिक राजश्व कार्यालय बुटवलबाट पाल्पा जिल्लामै सबैभन्दा धेरै कर बुझाउने संस्था र २०७६ मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड फिल्ड कार्यालय बुटवलबाट उत्कृष्ट बचतकर्ता पुरस्कारबाट सम्मानित भएको छ ।

विभिन्न प्रकारका बचत सेवा उपलब्ध गराई अधिकतम बचत गर्ने बानी बसाल्नु, सदस्यलाई प्रतिस्र्धात्मक ब्याजदरमा उत्पादनमूलक तथा घरायसी ऋण उपलब्ध गराई आर्थिक र सामाजिक विकासमा टेवा पु¥याउने, सदस्यको हित र विकास हुने खालका सामूहिक बचतलाई जोड दिने कार्यक्रम अगाडि बढाउँदैछ ।

आयआर्जन समूह निर्माण र सञ्चालन, लघु उद्यम व्यवसाय, उद्यमशीलता कार्यक्रम प्रवद्र्धनका क्रियाकलाप सञ्चालन गरी सदस्यको आयमूलक कार्यलाई बढावा दिई कार्य गर्ने, समान उद्देश्य भएका सहकारी संस्था, संस्थाको नीति, कार्यक्रम उद्देश्यसँग मेल खाने सहकारी, गैरसहकारी र वित्तीय कारोवार गर्ने संस्थासँग समन्वयात्मक कार्य गर्ने संस्थाका उद्देश्य छन् ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button