तपाईँ सुन्दै हुनुहुन्छः

व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सम्पन्न

लम्की। कैलालीको टीकापुरमा निर्माणाधीन व्यवस्थित बसपार्क निर्माणको काम ९० प्रतिशत सकिएको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमअन्तर्गत निर्माण भइरहेको बसपार्कको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

बसपार्क निर्माणका लागि १८ महिनाभित्र काम सक्ने गरी विसं २०७५ माघ २ गते राजेन्द्र रोयल जेभी धनगढीले ठेक्का लिई निर्माण शुरु गरेको हो । विसं २०७७ साउन ४ गतेभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि त्यसअगाडि नै काम सम्पन्न गर्ने लक्ष्य लिएर काम भइरहेको निर्माण कम्पनीका इञ्जिनीयर झङ्कर थापाले बताउनुभयो ।

बसपार्कमा एकतलाको टर्मिनल भवन निर्माण भएको छ । त्यसमा टिकट काउन्टर, रेष्टुरेन्ट, महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण भएको छ । “बसपार्क क्षेत्र पूरै आरसिसीसहितको ढलान गरिएको छ, त्यहाँ बसपार्कमा लामो दूरी र छोटो दूरीका लागि छुट्टाछुट्टै पार्किङ स्थान बनाइएको छ”, इञ्जिनीयर थापाले भन्नुभयो, “बसपार्कभित्र मोटरसाइकल, अटोरिक्साका लागि पनि पार्किङको व्यवस्था छ ।” इञ्जिनीयर थापाले अबको केही दिनमा बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गर्ने बताउनुभयो ।

लामो समयपछि टीकापुरको बसपार्क व्यवस्थित बन्न थालेपछि यहाँका नागरिक पनि खुशी भएका छन् । स्थानीय केशरी सोडारी व्यवस्थित बसपार्क निर्माण हुँदा यहाको विकासमा सहयोग पुग्ने बताउनुहुन्छ । “बसपार्क बनेपछि लामो दूरीका बस पनि यहाँ आउनेछन्, जसले व्यापार वृद्धिमा सघाउँछ”, सोडारी भन्नुहुन्छ, “बसपार्क बन्दै गर्दा आसपासका घर अहिले नै भाडामा गइसकेका छन् ।”

टीकापुरमा अहिले व्यवस्थित बसपार्कसहित छ लेनको सडक कालोपत्र, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र दृश्यावलोकन स्तम्भसहितको घण्टाघर निर्माण भइरहेका छन् । “भौतिक संरचना बनाउँदा ती संरचनाको दिगोपनामा ध्यान दिनुपर्दछ, त्यसमा हामी सचेत भएका छौँ”, नगरप्रमुख तपेन्द्र रावलले भन्नुभयो, “हामीले संरचना निर्माण गर्दा प्रयोेग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी गरिरहेका छौँ, टीकापुरमा ठूला पूर्वाधार बन्न थालेका छन्, यसले विकासमा सहयोग पुगेको छ ।” बसपार्क निर्माणको लागि राजेन्द्र रोयल जेभी धनगढीले रु आठ करोड ३३ लाखमा ठेक्का लिएकोे हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button