तपाईँ सुन्दै हुनुहुन्छः

सडक निर्माणको म्याद एक वर्ष थपियो

अत्तरिया । कैलालीमा निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण अवधि एक वर्ष थप गरिएको छ । निर्माण सम्पन्न सम्झौता अवधि सकिएको नौ महिनापछि सडकको म्याद थप गरिएको हो ।

एक नं प्याकेजको म्याद विसं २०७७ मङ्सिर ६ गतेसम्म र दोस्रो तथा तेस्रो प्याकेजको मङ्सिर १५ सम्मका लागि म्याद थप गरिएको मोहनापुल–अत्तरिया सडक योजना कार्यालय धनगढीका योजना प्रमुख होमबहादुर एसीले बताउनुभयो । निर्माण कम्पनीले विसं २०७४ जेठमा २४ महिनाभित्र निर्माण गरिसक्ने गरी ठेक्का सम्झौता गरेकामा सम्झौताअनुसार गत जेठमा सम्पन्न हुनुपर्ने काम आधा मात्रै सकिएपछि म्याद थप गरिएको जनाइएको छ ।

चालू आवको माघ मसान्तसम्म छ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको योजना कार्यालयले जनाएको छ । सङ्घीय सरकारको बजेटमा निर्माणाधीन कूल साढे १४ किलोमिटर लामो यो सडकखण्डको १० किमी छ लेन र साढे चार किमी चार लेनको हुनेछ । रु एक अर्ब ६८ करोड लागत रहेको उक्त सडक निर्माणका लागि तीन खण्डमा छुट्याई ठेक्का दिइएको छ ।

भन्सार–रोडस्थित मोहनापुलबाट अत्तरियाचोकसम्म १४ दशमलव १७ किलोमिटर लामो तथा ३२ दशमलव दुई मिटर चौडा सडक निर्माण गरिनेछ । दुवैतिर तीन–तीन मिटर फुटपाथ रहने छ । लेन सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने छ । विसं २०७४ जेठमा मोहनापुल–अत्तरिया छ लेन सडकको निर्माण शुरू भएको थियो । यो अवधिसम्म ७० प्रतिशत मात्र काम भएको सडक योजना कार्यालयले बताएको छ ।

निःशुल्क स्वास्थ्य परीक्षण

धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । डाइग्नोस्टिक्सको तेस्रो वार्षिकोत्सवको पूर्वसन्ध्यामा मानव सेवा आश्रम तारानगरमा रहेका अनाथ, असहाय, घरबारविहीन २९ वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

स्वास्थ्यकर्मीसहितको टोली आश्रममै पुगेर निःशुल्क रगत, मधुमेह, मिर्गौला, एचआइभी, हेपाटाइटिस ‘बी’ परीक्षण गरी फलफूल वितरण गरेको प्रालिका प्रबन्ध निर्देशक महेन्द्र साउदले बताउनुभयो । धनगढी उपमहानगरपालिका–५ टिसीएनचोकस्थित धनगढी डाइग्नोस्टिक्सले वार्षिकोत्सवका अवसरमा विशेष छुट अफर ल्याएको हो ।

आफनो तेस्रो वार्षिकोत्सवका अवसरमा डाइग्नोस्टिक्सले होलबडी प्याकेज रु पाँच हजार, मिनी होलबडी प्याकेज रु दुई हजार र थाइराइड जा“च रु ५०० मा गराउन लागेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मीनबहादुर धामीले जानकारी दिनुभयो ।

विभिन्न निःशुल्क शिविरसमेत आयोजना गरी सेवामुखी काममा सक्रिय धनगढी डाइग्नोस्टिक्स सेन्टरले वार्षिकोत्सवका अवसरमा सो सुविधा दिइएको जनाएको छ । हालसम्म डाइग्नोस्टिक्स सेन्टरले ६७० को निःशुल्क मधुमेह जा“च, सात हजार बढीको सिकलसेल जा“च गरेको डाइग्नोस्टिक्स प्रालिका प्रयोशाला प्रमुख नीरज भट्टको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button